चितवनको तुइनखोलामा भयंकर सुक्खा पहिरो, नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा मंगलबार दिउँसो ठूलो सुक्खा पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ।

मंगलबार दिउँसो करिब ३:२० बजे खसेको पहिरोले सडक समेत भासिन सक्ने जोखिम बढेको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए।
उनका अनुसार सुक्खा पहिरो निरन्तर खसिरहेको र तत्काल सडक खुल्ने कुनै सम्भावना नरहेको छ।

‘तुइनखोलामा अत्यन्त ठूलो सुक्खा पहिरो खसेको छ। सडक नै भासिन सक्ने अवस्था भएकाले तत्काल खुलाउने सम्भावना छैन,’ उनले भने।

यसविषयमा निर्णय गर्न सडक विभागको प्राविधिक टोलीसहित सुरक्षा समितिको बैठक बसेर छलफल भइरहेको छ। जोखिमका कारण सवारीसाधनलाई फर्काएर वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको प्रहरीले जनाएको छ।

वैकल्पिक मार्ग

नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएपछि सवारीसाधनले निम्न वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन् :

  • पोखराबाट काठमाडौं जाने : पोखरा–तनहुँ–दुम्रे हुँदै मुग्लिन प्रवेश गर्न सक्ने।

  • चितवनतर्फबाट काठमाडौं जाने : हेटौंडा–फाखेल–पालुङ–थानकोट हुँदै।

  • पूर्व–पश्चिम यातायातका लागि : नारायणगढ–हेटौंडा–भरतपुर हुँदै वैकल्पिक बाटो प्रयोग गर्न सकिने।

प्रहरीले जोखिमपूर्ण क्षेत्रमा भीड नगर्न र यात्रु तथा सवारी चालकलाई सुरक्षित बाटो रोज्न आग्रह गरेको छ।

Share:

सम्बन्धित समाचारहरु