काठमाडौं । नवनियुक्त चार मन्त्रीले सोमबार (असोज ६) शीतलनिवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा; कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियार; सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई शपथ गराए।
प्रधानमन्त्री सुशीला कार्कीले उनीहरूलाई मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष नाम सिफारिस गरेकी थिइन्।
यसअघि अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले शपथग्रहण गरी पदभार ग्रहण गरिसकेका थिए।
प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्मा हेरफेर समेत गरेकी छन्। अर्थमन्त्री खनाललाई संघीय मामिला मन्त्रालयको अतिरिक्त जिम्मेवारी दिइएको छ भने गृहमन्त्री अर्यालसँग रहेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय नवनियुक्त मन्त्री सिन्हालाई तोकिएको छ।
यसअघि चार सदस्यीय मन्त्रिपरिषद् सोमबार चारजना थपिएसँगै आठ सदस्यीय बनेको छ।


