चितवन । पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड ४५ घण्टापछि आंशिक रूपमा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार अपरान्ह सवा ४ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो।
शुक्रबार बेलुका करिब ६ बजेदेखि इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा गएको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनाएको थियो। पहिरोका कारण सयौँ सवारी साधन सडकमै रोकिएका थिए। हाल एकतर्फी सडक खुलेसँगै सवारी साधन गन्तव्यतर्फ गइरहेका छन्। सडक दुईतर्फी सञ्चालनमा ल्याउन सडक डिभिजन भरतपुरले डोजर, रोलरलगायतका उपकरण प्रयोग गरेर प्रयास गरिरहेको जनाएको छ।
नारायणगढ मुग्लिङ सडकखण्डको बीचभागमा फसेका यात्रुहरुलाई सबैभन्दा पहिले गन्तव्यमा पठाउने काम भइरहेको छ । जुगेडीदेखि भरतपुर क्षेत्रमा रोकिएका सवारी साधनलाई बीचबाटोमा रोकिएर बसेका सवारी साधनलाई गन्तव्यमा पठाइसकेपछि मात्रै पठाउनेगरी आपटारी र जुगेडी क्षेत्रमा गाडी रोकिएको छ ।–00–

