“अभिभावकको गुनासो– यातायात सुविधा नहुँदा विद्यालय पुर्‍याउनै मुस्किल”

स्रोतकेन्द्र : अपाङ्गता भएका बालबालिकाका प्रभावकारी सिकाइथलो

प्रतिमा सिलवाल-
चितवन । हरिकला भूसाल १३ वर्षअघि विद्यालयको शिक्षक थिइन् । उनी अहिले पनि शिक्षक नै हुन् । तर, १३ वर्षपछि उनको मासिक पारिश्रमिक १० हजारले घटेर १५ हजारमा झरेको छ । तर, हरिकलाको परिश्रम १३ वर्षअघिको भन्दा धेरै अहिले छ । पहिले उनी निम्नमाध्यामिक तहको अस्थायी दरबन्दीमा पढाउँथिन् । अहिले उनी मस्तिष्क पक्षघात भएका बालबालिका पढाउने स्रोतशिक्षक हुन् ।

पछिल्लो १३ वर्षको बीचमा शिक्षण पेशामै आवद्ध भएपनि उनले धेरै उतारचढाव बेहोरेकी छिन् । उनको १२ वर्षकी छोरी छन् हेलेन घिमिरे । हुन त उनी दुई सन्तानकी आमा हुन् । अर्की छोरी पनि छिन् उनको । तर, हेलेन जन्मिएपछि हरिकलाको जीवनमा धेरै कठिनाइका मोड आए । हेलेन जन्मिदै मस्तिष्क पक्षघातको समस्या लिएर आइन् । उनी आफै हिँडडुल गर्न सक्दिनन् । आफ्नो काम आफै गर्न सक्दिनन् । खाना समेत अरुको सहारामा खानुपर्छ । हेलेन जन्मिएपछि उनले छोरीको स्याहारमा समय बिताउनुपर्यो । समयअनुसार उनको शारीरिक र मानसिक वृद्धि भएन ।

अहिले सम्झिन्छिन्,— यस्तो लाग्थ्यो अब म केही गर्न सक्दिन । संसार नै रित्तो भएजस्तो लाग्ने । छोरीको हेरचाहमा लाग्दा उनले विद्यालय पढाउन छोडिन् । त्यसपछि झन् घरै भइन् । विस्तारै हेलेनजस्ता बालबालिकाको स्थानीय स्तरमा पहल गरेर पढाइमा जोड्नुपर्छ भनेर हरिकलाको परिवारले व्यक्तिगत परिवारमा नै स्रोत कक्षा पनि सुरु गरेको थियो । तर, विद्यालयसँग जोडेर सरकारी संरचनाबाट सेवा दिनुपर्छ भनेर दुई वर्षदेखि उनीहरुले भरतपुर महानगरपालिका वडा नम्बर २६ मा रहेको आदर्श माध्यामिक विद्यालयसँग स्रोत केन्द्र जोडे ।

चितवनमा समावेशी शिक्षा परियोजनामा काम गरेको राष्ट्रिय बहिरा महासंघले मस्तिष्क पक्षघात स्रोतकक्षाको लागि सहयोग गर्यो । भरतपुर महानगरपालिका विद्यालय र महासंघको त्रिपक्षीय सम्झौतामा स्रोतकक्षा सञ्चालन भएयता उनी स्रोतकक्षाकी शिक्षक हुन् । अहिले उनकी छोरी जस्तै १० जना स्रोतकक्षामा आउँछन् । मस्तिष्क पक्षघात भएकी छोरी लिएर स्रोतकक्षामा जाँदा भुसाललाई लाग्छ, — १२ वर्षअघि यस्तो स्रोतकक्षा भएको भए मैले जागिर छोड्नु पर्दैनथ्यो । आर्थिक रुपमा बलियो भएको भए मैले आफू डिप्रेशनमा गएझैँ कमजोर मनोबल लिएर बाँच्न पर्दैनथ्यो ।

भुसाल जस्तै विभिन्न अपाङ्गता लिएर जन्मिएका बालबालिकाको अभिभावक सँधै मानसिक रुपमा अप्ठ्यारोमा हुन्छन् । उनीहरुलाई एकातिर आफ्नो सन्तानको स्वास्थ्य, शिक्षा तथा हुर्काइकोे चिन्ता अर्कोतिर पारिवारिक दायित्व पूरा गर्नुपर्ने दायित्वले थिचिरहेको हुन्छ । अझ अपाङ्गता भएका बालबालिकाको आमाहरुले समाजबाट थप अपमानित र अपहेलित हुनुपरेको अवस्था छ । यस्तै अनुभव छ भरतपुर ६, गीतानगरकी शोभा सुवेदीको । उनको छोरी रोनिसामा मस्तिष्क पक्षघातको अपाङ्गता छ । रोनिसा गन्ध थाहा पाउने, घरिघरि राम्रै बोल्ने सुनेको कुरा बिर्सिने हुन्छ । उनलाई हिँडडुल गर्न कठिनाइ हुन्छ ।

रोनिसा गर्भबाट जन्मिने समयमा समस्या भयो । बच्चा नचलेपछि शोभाले अस्पतालमा बच्चा चलेको छैन भनेपछि शल्यक्रिया मार्फत उनी जन्मिइन् । तर, जन्मलगत्तै शोभाको काखमा छोरी परेन । १७ दिनसम्म कहिले भ्यन्टिलेटर त कहिले आइसियूमा उनलाई राखियो । १७ दिनपछि काख लिन पाएकी उनी शारीरिक रुपमा कमजोर हुँदै हुर्किइन् । अन्ततः रोनिसालाई मस्तिष्क पक्षघात भएको थाहा भयो ।

शारीरिक अपाङ्गता भएपनि समाजमा घुलमिल हुनबाट वञ्चित गराउनुहुँदैन भन्नेमा सचेत थिइन् शोभा । उनले आफूसँगै छोरीलाई लिएर हिँड्न थालिन् । परिवारमा श्रीमानबाट सहयोग भएपनि अन्य सदस्यले पटक पटक छोरीको अपाङ्गतामा कहिले आमालाई कहिले छोरीलाई नै प्रश्न गरिरहे । ‘छोरीलाई सुधार हुन्छ भनेर सिकाउन स्रोतकक्षामा ल्याउँदा पनि यसलाई पढाएर के हुन्छ भनेर प्रश्न गरिरहन्छन्, शोभा भन्छिन्, — हामीलाई परेको पीडा परिवारकाले नै नबुझ्ने रहेछन् । बेवास्ता नगरे त बाँच्नै गाह्रो छ ।

शोभा र उनका श्रीमानले भने बच्चाको सिकाइको लागि विद्यालय लैजानुपर्छ भनेर बुझेका छन् । त्यसैले उनीहरु छोरीलाई नारायणगढको बालकुमारी माध्यामिक विद्यालयको स्रोत कक्षामा लैजान्छन् । दुई वर्षअघि स्रोत कक्षा भर्ना भएकी रोनिसा अहिले विद्यालयको मूलधारको कक्षामा समावेश भएकी छन् । उनको बौद्धिकता राम्रो छ । पढेको सुनेर बुझ्छिन् । कक्षा १ की छात्रा हुन् उनी अहिले । शोभा भन्छिन्, यो स्रोतकेन्द्रको कारण छोरीको सिकाइमा धेरै परिवर्तन आएको छ । छोरीले पढ््न बस्दा उनको सानो सानो सिकाइले पनि खुसी दिन्छ ।

विद्यालय पु¥याउन यातायातको अभाव – 
शोभालाई जस्तै स्रोतकक्षाको कारण छोराको पढाइमा भएको प्रगतिले खुसी छिन् सीता तामाङ । उनको छोरा अमृत अहिले कक्षा २ को विद्यार्थी हो । अमृत साढे दुई वर्षअघि घरमै थिए । ओच्छ्यानबाट उठ्दैनथे । अहिले पनि उनी आफ्नै बलमा हिँड्न सक्दैनन् । किनकी अमृतलाई बहुअपाङ्गता छ । उनी बोल्न सक्दैनन् । हातले समाउन सक्दैनन् । सुन्न सक्छन् तर जवाफ फर्काउन सक्दैनन् । हात कमजोर भएपनि उनी यति राम्रो अक्षर लेख्छन् कि उनले विद्यालयमा प्राथमिक तहका विद्यार्थीबीच भएको हेण्डराइटिङ लेखन प्रतियोगितामा प्रथम स्थान हासिल गरे ।

 

दुई वर्षअघि समावेशी शिक्षा परियोजनामार्फत राष्ट्रिय बहिरा महासंघको सम्पर्कमा अमृतको परिवार आएको थियो । उनलाई केही समय घरमा आधारित शिक्षा दिएर विद्यालयसम्म आउने वातावरण महासंघले नै गर्यो ।
सीताले राखेको सानो चिया पसलको आम्दानीले ५ कक्षा पढ्ने अर्को छोरा र अमृतको हेरचाह र श्रीमान श्रीमतीसहित चार जनाको परिवार पालिदै आएको थियो । त्यही पसलको भर भएपनि श्रीमानलाई कमाउने जागिर खोज्न लगाएर छोरालाई हरेक दिन विद्यालय ल्याउन तयार भइन् सीता ।


विद्यालयमा अपाङ्गताको पहिचान, स्वास्थ्य जाँच, थेरापीसहित उनीहरुको वैयक्तिक आवश्यकता अनुसार सिकाइ हुने स्रोत शिक्षाक उषा नेपाल बताउँछिन् । सोही अनुसार अमृतको पनि सिकाइ राम्रो हुँदै गयो । सुरुमा लजाउने उनी विस्तारै सिकाइ राम्रो गर्दै गए । अन्ततः मूलधारको कक्षामा कक्षा १ हुँदै कक्षा दुईमा पढ्न सक्ने भए । अहिले उनी बालकुमारी माध्यामिक विद्यालयको कक्षा दुईको विद्यार्थी हुन् । सीता भन्छिन्, छोरा पढ्दै छ । खुसी छु । तर, विद्यालय ल्याउनै समस्या हुन्छ ।

अमृत हिँड्न नसक्ने भएकोले विद्यालय र घर भएको रामनगरको रुटमा सिटी गाडी चल्ने भएपनि अमृतलाई चढाउन मान्दैनन् । म्याजिक बसले त झन् रोक्दै रोक्दैनन् । त्यसैले अटो चढाएर विद्यालय लैजानु पर्छ । सीता भन्छिन्,— दिनदिनै एक सय लैजान, एक सय ल्याउन गाडीभाडा लाग्छ । छोरा छोडेर जाँदा र लिन आउँदा म्याजिक चढ्नुपर्यो । आठ हजार रुपियाँले पनि गाडीभाडा पुग्दै । मलाई छोरा स्कुल ल्याउनै समस्या छ । सीताको श्रीमानले १५ हजार रुपियाँ कमाउँछन् । त्यहि कमाइले घर धान्न र छोरा पढाउन कठिनाइ भएकोले विद्यालयबाट गाडीभाडाको व्यवस्था गरिदिन उनले अनुरोध गरिन् ।

सीता मात्रै होइन शोभा, हरिकला लगायत अपाङ्गता भएका अधिकांश बालबालिकाको एउटै समस्या छ, यातायात । उनीहरुलाई सार्वजनिक यातायातमा चढाउन पनि नमान्ने, कमजोर शारीरिक अवस्थाका कारण मोटरसाइकल लगायत सवारी साधनमा लैजान पनि गाह्रो हुने भएकोले यस्ता विद्यार्थीका लागि यातायात मुख्य रहेको उनीहरुको माग छ ।

‘अपाङ्गता भएका बालबालिकाको सबै माग पुर्याउन बजेटले धान्दैन’-
अधिकांश बालबालिका समावेशी शिक्षा परियोजनाको घरमा आधारित शिक्षा हुँदै स्रोतकक्षासम्म पुगेका छन् । तर, चितवनमा सबै बालबालिकाको नजिकमा स्रोत कक्षा छैनन् । सबै प्रकृतिका अपाङ्गता भएका बालबालिका सिधै मूलधारका विद्यालयमा भर्ना हुनसक्ने अवस्था पनि छैन । भरतपुर महानगरपालिकाका नगरशिक्षा अधिकारी सुवास आचार्य भौतिक रुपमा विद्यालयका तल्लो तल्लालाई अपाङ्गता भएका विद्यार्थी पढ्न सक्ने गरि संरचना सुधार गरिएको बताउँछन् । तर, राज्यको बजेट अभावका कारण सबै विद्यालयमा स्रोतकक्षा सञ्चालन गर्न सकिने अवस्था पनि नभएको उनले स्वीकार गरे ।

विद्यालयमा गएर सामान्य अवस्थाका बालबालिकासँगै अन्य बालबालिका पनि पढ्न पाउने अवस्था बनाउन यातायातको असुविधा लगायतका अवस्था भएकोले गुरुयोजना बनाएर आन्तरिक व्यवस्थापन गर्नुपर्ने धारणा भरतपुर महानगरपालिकाको उपप्रमुख चित्रसेन अधिकारीको छ । उनले स्रोतकक्षासम्म पुगेका बालबालिकाको अवस्थामा स्वास्थ्य, अभिभावक काउन्सेलिङदेखि सिकाइसम्मको सेवा एकैठाउँमा पाउने भएकोले उनीहरुको सिकाइमा प्रभावकारीता आएको अनुगमनमा पाइएको बताउँदैे यातायातको व्यवस्थापनसँगै उनीहरुको अवस्था अनुसार महानगरले स्रोतकक्षासम्म पुगेका बालबालिकाको निरन्तर सिकाइमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

—00–

 

Share:

सम्बन्धित समाचारहरु