काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलन को नाममा पार्टीसँग कुनै सम्बन्ध नराखी धम्की दिने समूहलाई कारबाही गर्न आग्रह गरेको छ।
आज बिहान विज्ञप्ति जारी गर्दै रास्वपाका प्रवक्ता मनिष झाले पार्टीको नाम लिएर उद्योगी, व्यवसायी, न्यायालय र उच्च पदस्थ कर्मचारीलाई डर–त्रास देखाई टेलिफोन तथा मेसेजमार्फत धम्की दिने गरेको जानकारी आएको उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति वा समूहले रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै धम्की दिइरहेको गम्भीर जानकारी आएको छ। यस्ता कार्यमा रास्वपाको कुनै संलग्नता नरहेको स्पष्ट पार्दै आवश्यक छानबिन र कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौँ।”
रास्वपाले यस्ता गैरकानुनी गतिविधिले पार्टीको छवि धमिल्याउने प्रयास भएको भन्दै दोषीलाई तुरुन्त नियन्त्रणमा लिन आग्रह गरेको छ।–00—


