काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । मंसिरमा भएको आमनिर्वाचनपछि १० पुसमा प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले मंगलबार ११ औँ पटक विस्तार गर्दा मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
नयाँ जनादेशबाट आएको सरकारसँग नागरिकका अपेक्षाको चाङ लागेका भए पनि प्रधानमन्त्री दाहाललाई अहिलेसम्म गठबन्धन फेरबदल र सत्ताको भागबण्डा मिलाउनै हम्मे परेको छ । गठबन्धनको गठजोड नमिलेकै कारण दाहाललाई मन्त्रिपरिषद्लाई पूर्णता दिनै पाँच महिना लागेको हो ।
एमालेसँगको गठबन्धन हुँदा नै छ पटक मन्त्रिपरिषद्मा हेरफेर भइसकेको थियो । नयाँ गठबन्धन बनेपछि दाहालले मंगलबार पाँचौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मंगलबार जनता समाजवादी पार्टी ९जसपा०का वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्री र जसपाकै प्रमिला कुमारी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त भएसँगै दाहाल मन्त्रिपरिषद् २५ सदस्यीय बनेको छ । संविधानले मन्त्रिपरिषद् बढीमा २५ सदस्यीयमात्रै हुन पाउने व्यवस्था गरेको छ । अब गठबन्धनको गणित नमिले पनि दाहालले मन्त्रीको संख्या बढाउन पाउँदैनन् ।
मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट ९, माओवादी केन्द्रबाट ६, जसपा २, नेकपा एकीकृत समाजवादी २, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीबाट १–१ जना मन्त्री बनेका छन् । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबाट १–१ जना राज्यमन्त्री बनेका छन् । जसपाबाट नवनियुक्त मन्त्री महतो सिरहा–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने राज्यमन्त्री बनेकी कुमारी राष्ट्रिय सभा सदस्य हुन् । उनलाई जसपाले यसअघि उपराष्ट्रपति पदको उम्मेदवार समेत बनाएको थियो ।
१० पुसमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहित सात दलको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिन नपाउँदै राष्ट्रिय सहमतिको बाहनामा राष्ट्रपति चुनावताका नेपाली कांग्रेससहित ११ राजनीतिक दलसँग गठबन्धन बनाएका थिए । तर, मन्त्रिपरिषद्ले पूर्णता पाउँदासम्म सरकारमा आठ दलमात्रै सहभागी छन् । राष्ट्रिय जनमोर्चा र आमजनता पार्टीले सरकारलाई समर्थन दिएपनि सरकारबाहिर छन् भने जनमत चाहेको मन्त्रालय नपाएको भन्दै सरकारबाट बाहिरिएको थियो ।
१७ चैतमा सातौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दा कांग्रेसका चार, नेकपा एकीकृत समाजवादीका दुई, जसपा, लोसपा, नेसपा, नागरिक उन्मुक्ति र माओवादी केन्द्रबाट १–१ गरी मन्त्रिपरिषद् विस्तार गरेका दाहालले त्यसयता गठबन्धन दलले मन्त्रीको नाम नदिएकै कारण मन्त्रिपरिषद् विस्तारमा महिनौँ समय खर्चिएका छन् ।
कांग्रेसले ९ मन्त्रीको नाम एकैपटक नदिएका कारण मात्रै दाहालले चार पटक मन्त्रिपरिषद् विस्तार गर्नुपर्यो । जसपाका अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचनबाट आफैँ संसद् छिरेर मन्त्री बन्ने आकांक्षा राख्दा जसपाले पनि लामो समयसम्म मन्त्रीको नाम दिएन । यसअघि गठबन्धनमा दुई मन्त्रीमात्रै पाएका यादवले आफूले चुनाव जितेर आएपछि भने एक राज्यमन्त्रीसमेत थप गरेर आफू पछि हटेका छन् ।
दाहालले ३ वैशाखमा नारायण प्रकाश साउदलाई परराष्ट्र, ५ वैशाखमा पूर्णबहादुर खड्कालाई उपप्रधानमन्त्री तथा कानुन, २० वैशाखमा धनराज गुरुङलाई कानून, मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बूलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका थिए । २४ वैशाखमा कांग्रेसकै सुरेन्द्रराज आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त भए ।–00–


