नेकपा एमाले चितवनको जिल्ला पार्टी कार्यालय, राप्ती नगरपालिकाको पार्टी कार्यालय र खैरहनी नगरपालिकाको पार्टी कार्यालयमा लुटपाट, तोडफोडपछि आगजनी गरिएको छ ।
यसैगरी जिल्लाभर २७ जना पार्टीका नेता कार्यकर्ताको घरमा तोडफोड, लुटपाट र आगजनी गरिएको नेकपा एमाले चितवनका सचिव प्रकाश ढुंगानाले जानकारी दिए ।

राप्ती नगरपालिकामा १८, खैरहनी नगरपालिकामा ४, भरतपुर महानगरपालिकामा ३ र कालिका नगरपालिकामा २ जना नेता कार्यकर्ताको घरमा लुटपाट, तोडफोड र आगजनी भएको सचिव ढुंगानाले बताए ।
कतिपयको घरमा लुटपाट र तोडफोड मात्र गरिएको छ भने कतिपयको घरमा आगजनी नै गरिएको छ । छिमेकी र स्थानीयहरुले अरु घरमा पनि क्षति हुने भन्दै आगजनी गर्नबाट रोकेपछि अधिकांश नेता कार्यकर्ताको घर जल्नबाट भने बँचेको हो । एमाले चितवनका अध्यक्ष कमल पाठकको घरमा समेत लुटपाट र तोडफोड गरिएको छ । आगजनी गर्नबाट स्थानीयहरुले बँचाएका छन् ।
माडी नगरपालिका, इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाभित्र कुनै पनि पार्टी कार्यालय र नेता कार्यकर्ताको घरमा क्षति नपुगेको सचिव ढुंगानाले जानकारी दिए ।
आगजनी र तोेडफोड गरिएका पार्टी कार्यालय र नेता कार्यकर्ताका घरमा जिल्ला नेतृत्वले आज स्थलगत अवलोकन गरेको छ । स्थलगत अवलोकन गर्दै नेताहरुले संकटको अवस्थामा कत्ति पनि नअत्तालिन र आफूलाई समहालेर अघि बढ्न हौसला दिएका छन् । विभिन्न संकट र विपत्तिसँग जुध्दै नेकपा (एमाले) आज यहाँसम्म आइपुगेको बताउँदै चितवन नेताहरुले कत्ति पनि विचलित नभई अझ सशक्त भएर अघि बढ्नुपर्ने बताएका छन् ।
एमाले चितवनका अध्यक्ष कमल पाठकले अझै शक्तिशाली भएर जनता, राष्ट्र, राष्ट्रियता विकास र समृद्धिको पक्षमा दह्रोसँग उभिने बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी राणाकाल मै गठन भएको पार्टी हो, जसले आफ्नो जीवनमा धेरै उतारचढाव फुट विभाजनहरु व्यहोर्दै आयो । राणा, पंचायतले सिध्याउन सकेन, एमाले मुल धार एमालेको तत्कालिन महासचिव मदन भण्डारीको २०५० सालमा हत्या गरियो, २०५४ सालमा पार्टी फुटाइयो, ०५८ सालमा ज्ञानेन्द्रको निरंकुश सत्ताको चपेटले पार्टी संकटमा पर्याे ।
यति गर्दा पनि सबै संकट पार गर्दै एमाले अघि बढिरहेपछि सामान्य ढंगले नसकिँदो रहेछ भनेर अनेक निराधार आरोप लगाएर फेरि एकपटक अन्तर्राष्ट्रिय षड्यन्त्रसहित प्रतिक्रियावादीहरु एकजुट भएर एमाले सिध्याउन लागिएको उनले बताएका छन् ।
एमाले सिध्याउन रचिएको पटक पटकको योजना एमाले पंक्तिले धुजाधुजा पारेको बताउँदै उनले एमाले शतिसाल भएकाले कसैले एमाले सिध्याउने सपना नदेख्न अनुरोध गरेका छन् ।
‘एमाले इमान्दार पार्टी हो । हामीलाई लगाइएको सबै आरोपको न्यायपूर्ण छानबिन गरियोस् र दोषी देखिए तल देखि माथिसम्म कारवाही गरियोस् भोग्न तयार छौं’ उनले भनेका छन्, ‘एमाले पनि रिफम गरेर चलाउँछौ र अझै शक्तिशाली भएर जनता, राष्ट्र, राष्ट्रियता विकास र समृद्दिको पक्षमा दह्रोसँग उभिने छौँ । कोही कमरेडहरु विचलित नभई दह्रोसँग उभिन अनुरोध गर्दछौं ।’–00–