काठमाडौं,१ जेठ – नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा चिनियाँ प्रतिनिधिमण्डलले यही जेठ २ गतेदेखि काठमाडौंमा सुरु हुने ‘सगरमाथा संवाद’ को सफलताको कामना गरेको छ। साथै, दुई देशबीचको लामो र मित्रवत् सम्बन्धलाई अझ प्रगाढ बनाउन चीन सधैं तत्पर रहेको जनाएका छन्।
भेटका क्रममा चिनियाँ प्रतिनिधिमण्डलले नेपालका लागि चीनको निरन्तर सहयोग रहने उल्लेख गर्दै गत डिसेम्बरमा प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल भएको स्मरण गराएका थिए। प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्ध दीर्घकालीन, हार्दिक र समस्यारहित रहेको उल्लेख गर्दै चीनले विकास र प्रविधिका क्षेत्रमा गरेको उल्लेखनीय प्रगतिबाट आफू प्रभावित रहेको प्रतिक्रिया दिए।
उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण ऐतिहासिक तथा बहुआयामिक रहेको उल्लेख गर्दै, नेपाल एक-चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्याए। साथै, दुई देशबीच भएका सहकार्यका सम्झौताको कार्यान्वयनका लागि सबै पक्षले अग्रसरता लिनुपर्नेमा जोड दिए।
भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि चिनियाँ राजदूत चन सोङ, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायतको उपस्थिति रहेको थियो।–00–


