थारु समुदायको जितिया पर्व सुरु, जिल्लामा आयोजनाहुने जितिया विशेषका सबै कार्यक्रम स्थगित

चितवन । थारु समुदायले मनाउने मौलिक पर्व जितिया आजदेखि सुरु भएको छ। चितवनका आदिवासी भूमिपुत्र थारु समुदायले यसलाई धुमधामका साथ मनाउने परम्परा भए पनि यसपटक खासै रौनकता देखिएको छैन।

आजको दिनलाई मछुवारी अर्थात् माछामार्ने दिन भनिन्छ। थारु समुदायले खोलानाला तथा तालहरुमा गएर माछा मार्ने र घरमा परिकार बनाएर खाने चलन छ। यस दिनलाई ‘लहाखाई’ पनि भनिन्छ। ब्रत बस्ने महिलाले नुहाएर मात्रै भोजन गर्ने भएकाले लाहा खाई भनिएको हो।

जितिया पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइन्छ।

  • सप्तमी – लाहा खाएके

  • अष्टमी – उपास (उपवास)

  • नवमी – पारन

आज सप्तमीको दिन घर–परिवारमा  माछाका परिकार डटखट खाने प्रचलन छ।

तर, यस वर्ष जेनजी समूहको आन्दोलनका कारण चितवनमा जितियाको रौनकता हराएको छ। जिल्लाका दशवटा क्षेत्रमा सांस्कृतिक कार्यक्रम गर्ने तयारी भए पनि सबै कार्यक्रम स्थगित गरिएको छ। थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति ललितकुमार चौधरीका अनुसार, गाउँघरमा मात्र सीमित गरी पर्व मनाउने तयारी भएको छ।

जिल्ला सचिव शन्तकुमार चौधरीले भने, आन्दोलनका क्रममा धनजनको ठूलो क्षति भएकाले राष्ट्र शोकमा परेको बेला ठूलो धुमधाम गर्न नसकिने बताए। यस वर्ष गीत, झमटा नाच र स्टेज कार्यक्रम रद्द गरिएको छ।

अब समुदायले आफ्ना गाउँघरमा भेला भई कथा सुन्ने, नजिकैका खोला–तालमा स्नान गर्ने र परिवारमै सिमित रुपमा पर्व मनाउने भएका छन्।

थारुहरुको बाक्लो बसोबास हुने रत्ननगर, कालिका, खैरहनी, राप्ती, मेघौली र माडी क्षेत्रमा विगतमा जितिया भव्य रूपमा मनाइन्थ्यो। तर यसपटक चितवनभर सामान्य माहोल मात्र देखिएको छ। चितवनमा झण्डै १ लाखको हाराहारीमा थारु समुदायको जनसंख्या छ ।

यसैबीच माडी नगरपालिकाले भोली एकदिनका लागि जितिया पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ ।

–00–

Share:

सम्बन्धित समाचारहरु