कांग्रेस महामन्त्री शर्माको भनाइ : देउवा, ओली र प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको राजनीतिलाई लामो समयदेखि उही नेताहरूको वरिपरि घुमाइराख्ने परिपाटी अन्त्य हुनुपर्ने बताएका छन्।

शर्माले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब सक्रिय राजनीतिबाट अवकाश लिनुपर्ने धारणा सार्वजनिक गरेका हुन्।

भिडियो सन्देशमार्फत उनले भने, “मैले पार्टीभित्र पनि कुरा राखेको हुँ, तर निर्णय गराउन सकिनँ। चुनाव हुन्छ, नयाँ सरकार बन्छ, तर प्रधानमन्त्री उनीहरूमध्ये कोही एक नै। यो प्रणालीगत रूपमा बदल्नुपर्ने बेला आएको छ।”

उनले नेतृत्व हस्तान्तरणका लागि प्रष्ट मापदण्ड तोक्नुपर्नेमा जोड दिँदै भने, “अब यो कुरा प्रणालीमा ल्याऔँ, विधिमा ल्याऔँ। ताकि भोलि गगन थापा–विश्वकुमार पुस्ताले नेतृत्व गर्दा पछि कसैलाई छाडिदिनुस् भनेर अनुरोध गर्न नपरोस्।”

शर्माले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटकभन्दा बढी नबन्ने व्यवस्था गर्नुपर्ने प्रस्तावसमेत अघि सारे। उनले पार्टी र नेताहरूमा अब आत्मसमिक्षा, आत्मालोचना र आत्मसंकल्प आवश्यक भएको उल्लेख गर्दै नयाँ ढंगले अगाडि बढ्नुपर्ने निष्कर्ष प्रस्तुत गरे।-00–

Share:

सम्बन्धित समाचारहरु