चितवन, ३१ जेठ । वर्षायाम सुरु गराउने मौसमी प्रणाली ‘मनसुन’ नेपाल प्रवेश गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (जुन १४ तारिख) मा देशका कोशी प्रदेश, पूर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश क्षेत्र र गण्डकी प्रदेशका पूर्वी क्षेत्रमा मनसुन भित्रिएको हो। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो। यस हिसाबले यस वर्षको मनसुन सरदर मितिभन्दा १ दिन ढिला गरी प्रवेश गरेको महाशाखाले जनाएको छ।
अब देशका अन्य स्थानमा क्रमशः मनसुन फैलिँदै जाने महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए। मनसुन आएपछि मौसम बदली र वर्षा हुने क्रम ह्वात्तै बढ्छ। ‘भोलि ९बिहीबार० र पर्सि (शुक्रबार) कोशी, बागमती र गण्डकी प्रदेश तथा देशका बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ’, उनले भने।
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा हो भने यसभन्दा माथि र ५० मिलिमिटरभन्दा कम पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ। अरेबियन सागरमा शक्तिशाली चक्रवात बनेकाले नेपालको पश्चिमी क्षेत्रमा भने मनसुनी गतिविधि सुरु हुन केही ढिला भइरहेको मौसमविद् झाले बताए।
‘२/३ दिनभित्र देशका अन्य स्थानमा पनि मनसुन पुग्ने अनुमान छ’, उनले भने।–00–
