विराटनगर । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्र नजिकै गाँजा ओसारपसारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ। प्रहरीले शनिबार राति करिब ३३० किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।
नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएको जहदा गाउँपालिका–२ तारिगामा शनिबार राति करिब १०:३० बजे प्रहरी गस्तीका क्रममा गाँजा बोकेको समूह प्रहरीलाई देखेपछि भाग्ने प्रयास गरेका थिए। टाउकोमा बोकेको गाँजाको बोरा फालेर फरार हुन खोजेपछि प्रहरीले नियन्त्रणका लागि चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ।
हवाई फायरपछि प्रहरीले गाँजा ओसारपसारमा संलग्न भारतको अररिया जिल्लाका चन्दामोहन निवासी २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई नियन्त्रणमा लिएको हो। घटनास्थलबाट प्रहरीले ३३० किलो गाँजा बरामद गरेको छ।
मोरङ प्रहरी प्रमुख कवित कटवालले गाँजा ओसारपसार गर्दै गर्दा हवाई फायर गरी दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको पुष्टि गरेका छन्। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।–00–


