चितवनमा निषेधाज्ञा जारी : बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म लागू हुने

चितवन, २६ भदौ । चितवन जिल्लामा शान्ति–सुरक्षा र जनजीवनलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी गणेशराज के.सी.ले सोमबार जारी गरेको आदेशअनुसार बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म निषेधाज्ञा लागु हुने भएको हो। त्यस्तै, बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू आदेश पनि लागू हुने जनाएको छ।

आदेशअनुसार पाँचभन्दा बढी मानिस भेला हुन, जुलुस प्रदर्शन, सभा, सम्मेलन, जुलुस, धर्ना गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

यद्यपि, अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, पत्रकार, दूध तथा खाद्यान्न ढुवानी, औषधि आपूर्ति, इन्धन, तरकारी र अत्यावश्यक सामग्रीको यातायात भने रोक लगाइने छैन।

त्यसैगरी, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सञ्चारमाध्यम लगायत अत्यावश्यक काममा संलग्न व्यक्तिहरू आवश्यक परिचयपत्र देखाएर आवतजावत गर्न पाउने व्यवस्था गरिएको छ।

आदेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुहरूले विमानस्थलमा आवतजावत गर्न हवाई टिकट देखाउनुपर्ने पनि उल्लेख गरिएको छ। प्रशासनले जिल्लामा शान्ति–सुरक्षा कायम राख्न र असामाजिक गतिविधि रोक्न सबै पक्षलाई सहयोग र समन्वय गर्न आग्रह गरेको छ।–00—

Share:

सम्बन्धित समाचारहरु