काठमाडौं, ११ चैत्र। जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरणको नजिक पुगेको छ । पार्टी एकीकरणका लागि दुवै पक्ष सहमति भएर कार्यदल समेत बनाएका छन् । कार्यदलले एकीकरणको नीतिगत प्रक्रिया समेत सुरु गरिसकेको छ ।
कार्यदलको पहिलो बैठक हिजो बसेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले बताए। उनले भने, ‘पार्टी एकता निश्चित भइसक्यो। हिजो हामीले कार्यदलको पहिलो बैठक बसेर सामान्य छलफल गरेर काम अघि बढाएका छौँ। चाँडै टुंग्याउँछौं।’
एकीकृत पार्टीको अध्यक्षमा डा। सिके राउत, संरक्षक रेशम चौधरी र सहअध्यक्ष रञ्जिता श्रेष्ठ हुने सहमति भइसकेको छ।
पार्टीको नाम नागरिक जनमत राख्ने भन्नेबारेमा छलफल भइरहेको उनले बताए। जनमतबाट एकताको लागि गठन कार्यदलको सदस्य समेत रहेका यादवले पार्टीको नाम र चुनाव चिन्हबारे पनि चाँडै सहमतिमा पुग्ने बताए। उनले थपे, ‘पार्टीको नाम नागरिक जनमत राख्ने भन्ने कुरा भइरहेको छ। यसले दुवै पक्षलाई समेट्छ छलफलको चरणमा छौँ। चुनाव चिन्ह ढकिया रहन्छ। त्यो डाक्टरसाव ९सिके राउत० ले पनि सार्वजनिक रूपमै स्वीकारिनसक्नुभएको छ।’
उनले पार्टी पदाधिकारीसहित आवश्यक संरचना कार्यदलले टुंग्याउने बताए।
जनमतबाट कार्यदलमा उपाध्यक्ष अब्दुल खान, डा. शरदसिंह यादव, बालगोविन्द चौधरी रहेका छन् भने नागरिक उन्मुक्ति पार्टी तर्फबाट गंगा चौधरी, सुनिता चौधरी, रामलाल डगोरा थारु रहेका छन्।
त्यसो त जनमतसँग पार्टी एकताको निर्णय गर्न बसेको केन्द्रीय समितिको बैठकमा पुगेर सिके राउतले सम्बोधन गरिसकेका छन्। उनले बैठकमा रेशम र रञ्जिताको प्रशंसा गर्दै विगतको गल्ती आत्मसमीक्षा गर्दै अब एकताबद्ध हुनुपर्ने बताएका थिए।
चुनावपछि नै गरेको एकताको प्रयास सफल भएको भए कम्तीमा आफूहरूको पार्टी ३० सीट जित्नसक्ने विश्लेषण सुनाएका थिए। उनले भनेका थिए, ‘अब मिलौँ भनेर हामी यहाँ आएका छौँ। त्यसका लागि रेशमजी, रञ्जिताजी पनि खटिनुभएको छ। हामी एकदमै सकारात्मक छौँ। यो सबैको सहयोग र सहमतिले नै हुन्छ यो। कसैले कसैको दबाबमा हुँदैन। सबैको सहमतिमा सबैलाई सम्मान गरेरै हुन्छ। हामी त्यो वातावरण बनाउँछौँ।’–00—


