जेनजी आन्दोलन: भाद्र २३ गतेका दिन मैले प्रत्यक्ष रुपमा जे देखें, जे भोगें (अनुभूती)

रेशम सापकोटा-

चितवन ।  देशव्यापी रूपमा सुरु भएको जेनजी आन्दोलनले नेपाललाई पुनः एक पटक आन्दोलनको आगोमा डुबाएको छ। यस ऐतिहासिक आन्दोलनको पहिलो दिन म भरतपुर महानगरपालिका वडा नं. ११, गणेशस्थानमा थिएँ — जहाँबाट म दिनभर सामाजिक सञ्जालमार्फत आन्दोलनलाई घरबाट हेर्दै बसेको थिएँ।

काठमाडौँमा प्रहरीले गोली प्रहार गर्दा १९ जना नाबालकको मृत्यु भएको खबरले देशलाई शोकमा डुबायो। मेरो मन पनि भक्कानियो,मुटु टुक्राटुक्रा भयो। देशले २०४६ सालको आन्दोलन, माओवादी द्वन्द्व, राजदरबार हत्या काण्ड, २०६२/६३ को जनआन्दोलन, राजतन्त्रको अन्त्य, २०७२ को महाभूकम्प र कोरोना भाइरस (कोभिड) समेत झेलेको इतिहास छ। यसबाट थलापरे पनि देश विकास हुन्छ भन्ने आशा भने कहिल्यै मरेको थिएन हामी नेपालीमा।

मिति २०८२ भाद्र २३, सोमबार, जेनजी समूहले सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोध तथा नेताहरूले गरेको भ्रष्टाचारको विरोध गर्न देशैभरिबाट एक साथ सडकमा उत्रने गरी सरकारविरोधी आन्दोलन सुरु गरेका थिए।

मिति २०८२ भाद्र २४ गते, मंगलबार बिहान करिब १०.०० बजे सेतो नेपाल अनलाइनका अध्यक्ष पत्रकार सन्तकुमार चौधरीको फोन आयो। रिपोर्टिङका लागि बजार झर्न आग्रह गर्नुभयो। म करिब साढे १०:३० बजे बजार प्रस्थान गरेँ। सेतो नेपालको कार्यालयमा केही समय बसेपछि नारायणघाटको स्थिति बारे आफ्नो फेसबुकबाट प्रत्यक्ष रिपोर्टिङ सुरु गरेँ,फोटो खिचे भिडियो बनाय । त्यसबेला चितवनमा कर्फ्यू आदेश जारी भइसकेको थियो। बजार सुनसान थियो, तर नारायणघाट बजारभित्र कमलनगरमा भने तनावग्रस्त वातावरण सुरु भइसकेको रहेछ।

नारायणघाटको कमलनगर क्षेत्रमा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा तोडफोड, आगजनी, र भीडको आक्रोश देखेर स्तब्ध भएँ। फोटो र भिडियो खिच्दै गर्दा फोन आयो — टाँडीतिर प्रदर्शन चर्किएको छ, नेताहरूको घरमा तोडफोड भइरहेको छ।

कमलनगरमा कांग्रेस पार्टी कार्यालयमा तोडफोड तथा आगजनी गरी प्रदर्शनकारीहरू भरतपुर महानगरपालिकातर्फ बढ्दै थिए। मैले सो क्षेत्रबाट फेसबुक लाइभ गरेँ। प्रहरी र प्रदर्शनकारीबीच ढुङ्गा हानाहान भइरहेको थियो। पछि सुरक्षाकर्मी पछि हटेपछि महानगरपालिकाको गेट तोडियो, भित्रबाट सामान निकालेर बाटोमा राखी आगो लगाइयो। पछि कार्यालय परिसरभित्र रहेका गाडीहरू, प्रदर्शनकारी कार्यालयको कोठा-कोठामा पसी तोडफोड, आगजनी गरी सरकारविरुद्ध नाराबाजी गर्न थाले प्रदर्शनकारीहरूले। स्थिति हेर्न नसकिने गरी विध्वंस गरेका थिए। कोही झोलामा सामान चोर्न व्यस्त थिए। कोहि महानगरको गाडी लिइ बजार घुम्न निस्केका थिए ।

नगरपालिकाबाट प्रदर्शनकारीहरू अगाडि बढेर जिल्ला प्रहरी कार्यालयतर्फ लागे। ट्राफिक प्रहरी कार्यालयमाथि समेत आक्रमण भयो। प्रहरीले सम्झाउने प्रयास गरे, तर प्रदर्शनकारीको उग्रताले अवस्था नियन्त्रणबाहिर पुग्यो। भवनभित्र पसी तोडफोड, आगजनी गरी पर्खालभित्र रहेका सवारी साधनमाथि आगजनी गर्नुका साथै कार्यालयमा रहेका सुरक्षाकर्मीमाथि ढुङ्गा हानी तितरबितर गराए। प्रदर्शनकारीहरूले जिल्ला प्रहरी कार्यालयमा पटक–पटक तोडफोड गर्ने कोसिस गरेका थिए। एसपी गोविन्द्र पुरी आफ्नै कमान्डमा गेटबाहिर निस्की भिडलाई सम्झाउने बुझाउने प्रयास गरिरहनुभएको देखिन्थ्यो। कतिलाई सम्झाउने अन्त्यमा भिडले पर्खाल तोडफोड र ढुङ्गा प्रहार गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रयोग गर्‍यो, जसले भीडलाई तितरबितर गरायो।

त्यही क्रममा मैले पत्रकार महासंघ चितवन परिसरमा पत्रकारहरूलाई देखेँ। प्रतिमा सिलवाल र अध्यक्ष सन्तकुमार चौधरी रिपोर्टिङ गरिरहनु भएको थियो। मैले पनि जिल्ला प्रहरी कार्यालय अगाडि बाइक राखी भिडियो खिचेको थिएँ। प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा, प्रहरीले अश्रुग्यास प्रहार गर्दा म पनि बाइक छोडी भाग्नुपरेको थियो। त्यसपछि प्रहरीले गेट वरिपरि कसैलाई पनि हिँड्न दिएन। मलाई घर जानु थियो, बाइक निकाल्न समस्या भयो। पछि प्रतिमा सिलवालसँग भेट भयो, उहाँको पनि स्कुटर महासंघमै रहेछ। दुबैको सवारीसाधन निकाल्न कठिनाइ भयो। प्रतिमा मेडमले एसपी गोविन्द पुरीलाई कल गरेपछि सवारीसाधन निकाल्न सहज भयो।

त्यस बेलासम्म आन्दोलनकारीहरूले चितवनका सबै प्रमुख सरकारी कार्यालयहरू — जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, जिल्ला अदालत, मालपोत, नापी, शिक्षा कार्यालय, महानगरपालिका, कर कार्यालय, राजनीतिक दलका पार्टी कार्यालयहरू, केही नेताका घरहरू, कर्मचारीका घर, केही सञ्चार संस्था लगायत भौतिक संरचना, साथै उक्त क्षेत्रमा रहेका सवारीसाधनहरू जलाइसकेका थिए। प्रदर्शनकारीहरूले भाटभटेनीजस्ता निजी सम्पत्तिमाथि समेत आक्रमण गरी सामान चोर्दै संरचना जलाइ ध्वस्त बनाएका थिए।

राज्य संरचना पूर्ण रूपमा निष्क्रियजस्तै देखिन्थ्यो। कर्मचारी, प्रहरी, सेना — सबै असहाय थिए। यस्तो त जनआन्दोलनको समयमा पनि देखिएको थिएन। अवस्था देशैभरि तस्तै रहेछ। मानवीय क्षतिको विवरण हृदयविदारक थियो । हाल सम्म देशभर करिब ७२ जना भन्दा बढी सर्वसाधारण मानिसको मृत्यु भएको छ, जसमा ३ जना प्रहरी पनि परेका छन्। प्रहरीसहित सयौँ घाइते भएका छन्।

प्रहरी प्रशासन गृह मन्त्रालयअन्तर्गत सञ्चालित हुन्छ भने स्थानीय सुरक्षाको आदेश सिडिओ (जिल्ला प्रशासन कार्यालय) बाट हुन्छ। सशस्त्र संयन्त्र भएर पनि उनीहरू आन्दोलनकारीबाट सुरक्षित रहेनन्।

प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गामुढा, आक्रमण, मानसिक आघात — यी सबैका बाबजुद उनीहरूले राज्यको सम्पत्ति जोगाउने प्रयास गरे, तर सकेनन्।
आन्दोलनले यति बेला प्रहरी रुष्ट रहेका छ्न किन भने आन्दोलनकारीले प्रहरी निशान बनाउने,पोसाकको दुरुपयोग गर्ने,सवारी साधनमा आगजनी गर्ने,सार्वजनिक सम्पत्तिमा आगजनी गर्ने,हतियार चोरी गर्ने,लुटपाट गर्ने,प्रहरी माथी ढुङ्गा प्रहार गर्ने,आत्मसमर्पण गर्न लगाउने कार्यले प्रहरी यति बेला रुष्ट देखिन्छन् अब आवश्यक छ प्रहरीको आत्मबल उच्च बनाइ समुदायसँगको समन्वय गरेर प्रहरीलाई पुनः जनतामाझ लोकप्रिय बनाउनु पर्छ।

जिनजी आन्दोलनले सरकार परिवर्तन गर्‍यो। २०८२ भाद्र २७ गते साँझ, सुशीला कार्की देशकी पहिलो महिला प्रधानमन्त्री चयन हुनुभएको छ। संसद विघटन गरिएको छ। देश फेरि नयाँ मोडमा प्रवेश गरेको छ।

अब आवश्यक छ — यस्ता आन्दोलन पुनः नदोहरिऊन्। राज्यले आफ्ना नागरिकको आवाज सुनेर समयमै उत्तर दिन सकोस्। भ्रष्टाचारको अन्त्य होस्। आन्दोलनहरूले राज्यको संरचना ध्वस्त पार्नभन्दा पनि जनताको भलाइमा केन्द्रित होस्।

यो आन्दोलन केवल आक्रोशको विस्फोट थिएन — यो पुस्तौँदेखि थामिएको पीडाको विस्फोट थियो। अबको सरकारले त्यो आवाज बुझ्नुपर्छ। राज्यको सम्पत्ति ध्वस्त गर्ने आन्दोलनकारीलाई खोजी खोजी कानुनी कार्वाही गर्नु पर्दछ, भ्रष्टाचार गरेका नेताहरूलाई छानीछानी जेलमा कोच्नुपर्छ। भ्रष्ट कर्मचारीहरूको सम्पत्ति छानबिन हुनुपर्छ। देशमा अमन चयन कायम होस्, शान्ति सुरक्षाको प्रत्याभूति होस्। स्वास्थ्य र शिक्षा सबैका लागि निःशुल्क हुन सकून्। देशको विकास तीव्र गतिमा अघि बढोस्। नेपालमै उद्योग धन्दाहरू खोलियोस्, वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई नेपालमै फर्काई रोजगारीको उचित व्यवस्था गरियोस्। यी सबै लक्ष्यहरू तुरुन्तै पूरा नहुन सक्छन्, तर सरकारको काम गर्ने गति अब ढिलो हुनु हुँदैन। देशले परिवर्तनको अपेक्षा राखेको छ — त्यो अपेक्षाको बोझ सरकारले आजैबाट बोक्न थाल्नुपर्छ।–00–

 

Share:

सम्बन्धित समाचारहरु