नेपाली सेनाको अपिल : ‘जिउधनको रक्षा र राष्ट्रिय सम्पत्तिको संरक्षण हाम्रो साझा कर्तव्य’

काठमाडौं । नेपाली सेनाले हालको विषम परिस्थितिमा नेपाल र नेपाली जनताको जिउधनको सुरक्षा गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। साथै परिस्थिति थप जटिल नबनाउन सबैलाई संयमित रहन आग्रह गरेको छ।

सेनाले विज्ञप्ति जारी गर्दै देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबै नागरिकको साझा कर्तव्य भएको स्मरण गराएको छ।

सोमबार र मंगलबार देशभर आन्दोलनरत जेनजी प्रदर्शनकारीले गरेका गतिविधिबाट २० जनाभन्दा बढीको ज्यान गइसकेको छ। प्रदर्शनका क्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थहरूको कार्यालयमा समेत आगजनी भएको छ भने अधिकांश संरचना ध्वस्त भएका छन्।

यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिइसकेका छन्। राजनीतिक संकटबीच सेनाले जारी गरेको विज्ञप्ति विशेष चासोको विषय बनेको छ।

विज्ञप्तिमा सेनाले भनेको छ :
“नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ। यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।”

त्यसपछि सेनाले थप आग्रह गरेको छ :
“तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ।”

Share:

सम्बन्धित समाचारहरु