एमाले विधान महाधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्दै

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आजबाट सुरु भएको छ। पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्।

महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक सहभागी भएका छन्। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ सुरु भएको महाधिवेशनमा विभिन्न प्रतिवेदन प्रस्तुत गरिएको छ।

पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गरेका छन्। सो प्रतिवेदनमा वर्तमानका मुख्य चुनौती, पार्टीको कार्यदिशा र कार्यभारबारे विस्तृत उल्लेख गरिएको छ। साथै, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने राजनीतिक प्रस्ताव समेत समावेश गरिएको छ।

त्यसैगरी, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका छन्।

महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूमाथि समूहगत छलफल हुने कार्यक्रम तय गरिएको छ।–00—

Share:

सम्बन्धित समाचारहरु