रेशम सापकोटा – सेतो नेपाल
चितवन, १९ भदौ – भरतपुर महानगरपालिका–११ गणेशस्थानका महिला दिदीबहिनीहरूले हरेक साँझ ऐतिहासिक, धार्मिक तथा पुरातात्विक दृष्टिले महत्त्वपूर्ण मानिने गणेशधाम परिसरभित्र रहेको सत्संग भवनमा भजन किर्तन गर्दै आउनुभएको छ।
‘गणेशमार्ग महिला भजन समूह’ नाम दिइएको यस समूहका सदस्यहरूले साँझको फुर्सदिलो समयमा जम्मा भई भजन–कीर्तन गर्दा आत्मिक शान्ति, धार्मिक आनन्द र सामूहिक उत्साह प्राप्त हुने बताउनु भयो

भजन समूहकि सदस्य शोभा भण्डारीले भजन–कीर्तनलाई केवल मनोरञ्जन नभई धर्म–संस्कृतिको संरक्षण र सकारात्मक सामाजिक सन्देश फैलाउने माध्यमका रूपमा लिएको स्पष्ट पार्नुभयो।
गणेशस्थान आमा समूहकी सचिव कुसुम खड्काले दिदीबहिनीहरू एकजुट भएर गर्नुभएको यो कार्यले हिन्दू धर्मको रक्षा गर्दै लोकसंस्कृति जोगाउने कार्यमा ठूलो योगदान पुगेको बताउनुभयो।
हिन्दू धर्मले सत्संग, भजन–कीर्तन र सामूहिक उपासना मार्फत मानिसलाई सत्य, अहिंसा, सदाचार र कर्तव्यपथमा लाग्न प्रेरित गर्ने बताउँदै उहाँले यसरी महिलाहरू जुट्दा समाजमा धार्मिक चेतना संगै आपसी सम्बन्ध पनि प्रगाढ हुने धारणा राख्नुभयो।
शिक्षिका समेत रहनुभएकी महिला भजन समूहकी सदस्य गङ्गा पराजुलीले यस परम्पराले टोलभित्र सौहार्दपूर्ण वातावरण निर्माण भएको र अन्य महिला समूहहरूले समेत निरन्तर भजन–कीर्तन गर्दै हिन्दू धर्मको रक्षा गर्दै आउनुभएको उल्लेख गर्नुभयो।
यसैगरी गणेशस्थान नौमती बाजा समूहकी अध्यक्ष लीला कार्कीले साँझको फुर्सदिलो समयमा महिलाहरू भजन–कीर्तनमा संलग्न हुँदा बालबालिकाले समेत मादल, खैजरी, मुजुरा बजाएर संस्कृतिको अभ्यास गरिरहेकोमा अत्यन्त खुशी व्यक्त गर्नुभयो। उहाँले यसरी पुस्तान्तरण हुँदै गएका परम्परागत वाद्यवादन र लोकधुनहरूले हाम्रो मौलिक संस्कृति जोगाउनेमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
त्यससँगै प्रत्येक साँझ आफ्नो गृहकार्य सकाइसकेपछि बालबालिकाले पनि केही समय निकालेर भजनमा सक्रिय सहभागिता जनाउने गरेका छन्। उनीहरूले मादल, खैजरी र मुजुरा बजाउँदै भजन–कीर्तनमा रमाइलो ढंगले सहभागी हुँदा बालमस्तिष्कमा धर्म–संस्कृतिप्रति गहिरो छाप पर्ने र त्यसले समाजमा सकारात्मक सन्देश फैलिएको धारणा व्यक्त गर्नुहुन्छ भजन–कीर्तन समुहकी सदस्य सावित्री रेग्मी ।
समूहले हरेक एकादशीको अवसरमा सदस्यहरूको घरमै पालैपालो भजन–कीर्तन गर्ने प्रचलन समेत चलाउँदै आउनुभएको छ। त्यही क्रममा संकलित रकमबाट वाद्यवादनका सामान खरिद गर्ने गरिएको छ। विगत एक महिनादेखि निरन्तर चलिरहेको भजन–कीर्तनमा अन्य गाउँघर बाट पूजा वा धार्मिक कार्यक्रममा निम्त्याए महिला दिदीबहिनीहरू उत्साहपूर्वक सहभागी भई भजन–कीर्तन प्रस्तुत गर्दै आउनुभएको छ।
धर्म, संस्कृति र समाजलाई एकसाथ उचाल्ने यस्ता पहलहरूले हिन्दू धर्मको मूल सन्देशलाई व्यवहारमै उतार्न सफल भएको देखिन्छ। आत्मिक आनन्दसँगै सामाजिक एकता र सांस्कृतिक समृद्धिको यस्तो सुन्दर उदाहरणले गणेशस्थानलाई धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा अझ उचाइमा पुर्याउन सफल भएको छ।–000–


