काठमाडौं, ८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डिआईजी छविलाल जोशीका निवेदनमा सर्वोच्च अदालतमा जारी सुनुवाइ बिहीबार पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ।
न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबारदेखि सुरु भएको सुनुवाइ निरन्तर रूपमा स्थगन हुँदै आएको हो। मंगलबार रवि लामिछानेको पक्षमा १० जना अधिवक्ताहरूले बहस गरेका थिए। तीमध्ये अन्तिममा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरे पनि त्यो अधुरो रहेकाले बिहीबार पुनः सुनुवाइ गरिएको हो।
बुधबार भने संवैधानिक इजलासको कार्यव्यस्तताका कारण पेसी तोकिएको थिएन। बिहीबारको सुनुवाइमा रविका पक्षका वकिलहरूले बहस समाप्त गरेपछि सरकारी पक्षबाट चारजना सरकारी वकिलहरूले आफ्नो तर्क प्रस्तुत गरेका छन्।
अब जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, अधिवक्ता दिनेश त्रिपाठीलगायत तीनजना वकिलले बहस गर्ने जानकारी इजलासमा गराइएको छ।
रवि लामिछानेका कानुन व्यवसायी डा. नारायण कँडेलका अनुसार जाहेरवालाको बहस शुक्रबार सकिएपछि रविका तर्फबाट जवाफी बहस हुनेछ। “चिया समयअघि नै बहस सकिने भएकाले शुक्रबार नै आदेश आउने अपेक्षा गरिएको छ,” कँडेलले जानकारी दिए।


