प्रधानमन्त्री ओली स्वदेश फर्किए, एससिओ शिखर सम्मेलनमा सहभागी

काठमाडौं, १८ भदौ – चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्। उनी शांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुन १४ भदौमा चीन पुगेका थिए।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान झेङसँग बेइजिङमा भेटवार्ता गरेका थिए। शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले बहुपक्षीय सम्बन्ध र क्षेत्रीय सहयोगमा जोड दिएका छन्।

एससिओ सन् २००१ मा स्थापना भएको विश्वकै ठूलो क्षेत्रीय संगठनमध्ये एक हो। यसका पूर्ण सदस्यमध्ये चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस छन्। अफगानिस्तान र मंगोलिया पर्यवेक्षक राष्ट्र हुन् भने नेपालसहितका टर्की, श्रीलंका, अजरबैजान, अर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, माल्दिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संवाद साझेदारका रूपमा रहेका छन्।

शिखर सम्मेलनमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति, कम्बोडिया, लाओस र भियतनामका प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। पुटिनसँगको भेटवार्तामा दुवै नेताले एकअर्कालाई भ्रमणको निम्तो दिएका थिए।

प्रधानमन्त्री ओली नेतृत्वको २३ सदस्यीय प्रतिनिधि मण्डलमा पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेस उपाध्यक्ष पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा, सरकारी अधिकारी र पत्रकारहरू सहभागी थिए।–00–

Share:

सम्बन्धित समाचारहरु