हेटौंडा। बागमती प्रदेश सरकारले अब आफ्नै स्तरमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण गर्ने तयारी गरेको छ। श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाका अनुसार करिब पाँच करोड रुपैयाँमा खरिद गरिएका पाँचवटा अत्याधुनिक मेसिनमार्फत प्रतिघण्टा १५० वटा लाइसेन्स छाप्न सकिने छ।
संघीय सरकारले प्रदेशलाई लाइसेन्स छाप्ने अधिकार दिएपछि बागमती सरकारले यो सेवा सञ्चालन गर्न लागेको हो। मन्त्री थापाले एक महिनाभित्रै वितरण सुरु हुने बताए। हालसम्म १२ लाख थान लाइसेन्स कार्ड छाप्न बाँकी रहेको र वर्षौदेखि ट्रायल पास गरेका सेवाग्राहीले समेत पाउन नसकेको उल्लेख छ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा लाइसेन्स छपाइका लागि ६ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। साथै, इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सिस्टम (EDLS) र भेइकल रेजिष्ट्रेसन सिस्टम (VRS) लागू भइसकेको छ, जसले यातायात व्यवस्थापनलाई डिजिटल, पारदर्शी र छरितो बनाउने विश्वास सरकारले व्यक्त गरेको छ।–00—