चैत ७ एजेन्सी । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा पेट्रोलरग्यासको लाइनमा उभिएका दुई जनाको मृत्यु भएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार इन्धनको लागि लाइनमा बसेका दुई वृद्ध मानिसको मृत्यु भएको हो। दुवैको उमेर ७० वर्षको हाराहारीमा थियो।श्रीलंकन प्रहरी प्रवक्ता नलिन थालडुवाका अनुसार मृत्यु हुनेमध्ये एकजना अटोचालक थिए।उनी मधुमेह र मुटुको रोगको सामना गर्दै आएका थिए। अर्का एक जनाको उमेर भने ७२ वर्षको थियो। उनीहरु दुवैजना निकै लामो समयदेखि लाइनमा थिए।
सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि आएको सबैभन्दा ठूलो आर्थिक संकटले २ करोड २० लाख श्रीलंकनको जीवनमा ठूलो असर पारेको छ। पेट्रोल, ग्यासदेखि दैनिक उपभोग्य वस्तुको भाउ अचाक्ली बढेको छ। सामान किन्न पसलहरूमा लामा लामा लाइन देखिन्छन्। केही अत्यावश्यक वस्तुमा सरकारले कोटा निर्धारण गरिदिएको छ।
श्रीलंकाको आर्थिक अवस्था यति कमजोर बनिसकेको छ कि कागज र प्रिन्टिङको मसी खरिद गर्ने पैसा नभएको भन्दै स्कुले विद्यार्थीको परीक्षा नै रोकिएको छ।
समाचार एजेन्सी एएफपीका अनुसार कोभिड–१९ को कारण पर्यटनमा आधारित श्रीलंकाको अर्थतन्त्र नै धरमराएको छ।श्रीलंका अहिलेको अवस्थामा पुग्नुमा आतंकवादी हमला र कोरोनाको पनि असर त छ तर यी दुई कारणले मात्रै यति गहिरो संकट ल्याएका होइनन्। आर्थिक अवस्था मजबुद् हुँदा श्रीलंकाले चीनलगायत मुलुकबाट ऋण लिएर ठूला/ठूला परियोजना बनाएको थियो। ती परियोजना बनाउन लिएको ऋणको किस्ता वर्षेनी तिरिरहनुपर्छ।
ऋण तिर्न गाह्रो हुन थालेपछि सन् २०१७ मा सरकारले हम्बोनाटोटा बन्दरगाह चीनलाई ९९ वर्षका लागि भाडामा दिएको थियो। पछिल्लो समय श्रीलंकाले अन्य मुलुक तथा वित्तीय संस्थाहरुसँग आर्थिक सहयोगको माग गरिरहेको छ।