देविकोट सामुदायिक भवनमा बजेट: सांसद गीता गुरुङ र नगरपालिकाको पहल

बिजय खरेल – सेतो नेपाल

चितवन, १२ भाद्र — बागमती प्रदेशसभा सदस्य गीता गुरुङले समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधित्व गर्दै देविकोट सामुदायिक भवन निर्माणका लागि आफ्नो सिलिङ बजेटबाट २५ लाख रुपैयाँ विनियोजन भएको सार्वजनिक गरेकी छन्। उनले यसबाहेक माडी नगरपालिकाका विभिन्न वडामा पुल, तटबन्ध लगायतका शीर्षकमा समेत बजेट परेको उल्लेख गर्दै, यसबारे नगरप्रमुख र उपप्रमुखलाई मौखिक जानकारी दियको धारणा राख्नु भयो । तर पछिल्लो समय बजेट आफूले मात्र ल्याएको भन्ने भ्रामक प्रचार भइरहेको भन्दै गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत खण्डन गरेकी छन्।

“विकास त जनताको माया, मत र सद्भावले सम्भव हुन्छ। तर पटक–पटक आफुले बजेट ल्याएको भनेर अफवाह फैलाइँदा जनतामा दिग्भ्रम सिर्जना हुन्छ। कृपया यस्ता गलत प्रचार नगरौँ,” गुरुङले फेसबुकमार्फत प्रष्ट पारिन्।

यसैबीच माडी नगरपालिकाकी मेयर तारा कुमारी काजी महतोले माडी क्रमिक रूपमा विकास र विधिमा अघि बढिरहेको बताउनुभयो।
“नगरपालिकाले अधुरा काम पूरा गर्दै नयाँ योजनालाई गति दिएको छ। सबैसँग समन्वय गरेर अघि बढ्दा मात्र दिगो विकास सम्भव हुन्छ भन्ने विश्वासका साथ हामी अगाडि बढिरहेका छौँ,” मेयर महतोले बताउनुभयो।

उपमेयर खेमप्रसाद महतोले पनि सहकार्य र एकतामै जोड दिनुभयो। “नगरपालिकाले ल्याएका योजनामा पारदर्शिता र स्थानीयको सक्रिय सहभागिता प्राथमिकतामा राखिएको छ। सबैले आ–आफ्नो ठाउँबाट योगदान दिए विकास अझै गतिशील बन्छ भन्ने हाम्रो धारणा हो,” उपमेयर महतोको भनाइ छ।

यसरी प्रदेश सांसद गीता गुरुङको २५ लाख रुपैयाँ र नगरपालिकाको सिफारिसमा प्राप्त १० लाख रुपैयाँ जोडिँदा देविकोट सामुदायिक भवन निर्माणका लागि महत्त्वपूर्ण रकम सुनिश्चित भएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु