काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुपन्देही–३ का उम्मेदवार तथा न्युरोचिकित्सक डा. लेखजंग थापाले आफ्नो निजी जीवनलाई लिएर उठेका प्रश्नहरूको सार्वजनिक जवाफ दिएका छन्।
थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका स्टाटसमा आफ्नो पारिवारिक जीवन कानुनसम्मत र समस्यामुक्त रहेको स्पष्ट पार्दै, निजी जीवनमाथिको आक्रमणलाई रास्वपा र परिवर्तनकारी राजनीतिमाथि गरिएको सुनियोजित प्रहारको रुपमा चित्रण गरेका छन्।
उनका अनुसार, जीवनमा दुई पटक विवाह भए पनि सन्तानप्रति आफू पूर्ण जिम्मेवार बाबु रहेको र सम्बन्धविच्छेदपछि पनि आमासँग मिलेर साझा अभिभावकत्व निभाइरहेको बताए। “सन्तानको भविष्य सुरक्षित बनाउनु मेरो कर्तव्य हो, त्यसमा मलाई कुनै ग्लानी छैन,” उनले लेखेका छन्।
१४ वर्षदेखि न्युरोचिकित्सकको रूपमा पेशागत यात्रा तय गरेका थापाले बालबालिकाको मानसिक अवस्थामाथि पारिवारिक असन्तुलनको असर नजिकबाट अनुभव गरेको बताए। “बच्चाको जीवनमा सम्बन्धविच्छेदको नकारात्मक असर नपरोस् भन्ने मेरो संकल्प हो,” उनले उल्लेख गरे।
राजनीतिमा प्रवेश पेशागत सफलता होइन, देशमा बढ्दो विकृति र विसङ्गतिप्रति असन्तुष्टिका कारण भएको थापाको भनाइ छ। आफू नेता बन्न नभई देश बदल्ने यात्रामा सहभागी हुन आएको स्पष्ट पार्दै उनले भने, “रुपन्देही–३ को उम्मेदवार म मात्र होइन, परिवर्तन चाहने प्रत्येक नेपाली हो।”
३५ दिन लामो बहुआयामिक छनोट प्रक्रियाबाट उम्मेदवार बनेको उल्लेख गर्दै थापाले पार्टीको कुनै पनि निर्णयलाई सहर्ष स्वीकार गर्ने बताएका छन्। उम्मेदवार भए वा नभए पनि शान्तिपूर्ण क्रान्तिको लागि देश तयार भइसकेको उनको टिप्पणी छ।



