सौराहामा ‘रोयल जंगल भिल्लास होटल’ सञ्चालनमा

चितवन । चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा ‘रोयल जंगल भिल्लास होटल’ सञ्चालनमा आएको छ । रत्ननगर निवासी व्यवसायी माधव भट्टराईले करिब ३५ करोड रुपैयाँको लगानीमा उक्त होटल सञ्चालनमा ल्याएका हुन् ।

२७ वटा विभिन्न किसिमका कोठा रहेको होटलमा प्रतिकोठा ५५ सयदेखि १० हजार पाँचसय  रुपैयाँसम्म मूल्य निर्धारण गरिएको सञ्चालक माधव भट्टराईले जानकारी दिनुभयो । १७ कट्ठा जग्गामा तीनवटा ठूलो भवनसहित बनेको होटलमा पार्किङको सुविधा तयार पारिएको छ भने राप्ती नदी किनार नजिकै स्विमिङ पुल निर्माणको तयारी भइरहेको छ ।

सौराहाको पर्यटनमा देखिएको सम्भावना र अवसरलाई लक्षित गर्दै गरिएको लगानीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चालक भट्टराईले होटल सेवाग्राहीको चाहनाअनुसार आधुनिक सुविधा सम्पन्न बनाइएको बताए । उनका छोरा साकार भट्टराईले होटलको व्यवस्थापकीय जिम्मेवारी सम्हालेका छन् ।

उनले सौराहाको पर्यटनमा नयाँ पूर्वाधार मात्रै नभई सेवाग्राहीको चाहनाअनुसार सुविधा उपलब्ध गराउने गरी होटल तयार गरिएको बताए । साथै, चितवनको सिराईचुली, देवघाट जस्ता पर्यटकीय गन्तव्यलाई समेत सौराहासँग जोड्ने योजना बनाएर होटल सञ्चालनमा जुटेको जानकारी  दिए ।

कार्यक्रममा नन्दप्रसाद भट्टराईले होटल निर्माण गरेर छोरा–नातिले नेपालमै रोजगारीको अवसर सृजना गरेकोमा खुशी व्यक्त गर्दै सबैका छोराछोरी विदेश जाने अवस्था आएकाले नेपालमै रोजगारीको वातावरण तयार पार्न होटलमा लगानी गरिएकोमा आफू खुशी भएको बताए ।

सो अवसरमा क्षेत्रीय होटल संघ नेपालका अध्यक्ष ओमप्रकाश पाण्डे, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरी, रत्ननगर वडा नं. ६ का अध्यक्ष किरण महतो, वडा नं. ७ का अध्यक्ष सजना महतोलगायतले सौराहाको पर्यटन, लगानीका अवसर र चुनौतीबारेमा धारणा राखेका थिए ।

–00—

Share:

सम्बन्धित समाचारहरु