काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आम जनता पार्टी (आजपा)का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहितका नेताहरूलाई एमाले प्रवेश गराएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पूर्व एमाले केन्द्रीय सदस्यसमेत रहेका साहलाई औपचारिक रूपमा पार्टीमा भित्र्याएका हुन्। त्यस्तै, आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाकी पूर्व उपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाकी पूर्व उपप्रमुख सिमलकुमारी साहलगायत रौतहट र धनुषाका अन्य नेताहरू पनि एमालेमा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूलाई स्वागत गर्दै ओलीले गलत बाटो देखाउनेहरूको प्रलोभनमा परेर केही समय अलमलमा भए पनि उनीहरू अब सही ठाउँमा पुगेको टिप्पणी गरे। उनले भने, “हामी शान्ति, मानवता, विकास र समृद्धिको पक्षमा छौं। अपराधको सोचमा बस्नेहरूको जञ्जालबाट तपाईंहरू मुक्त हुनुभएको छ। अब एमालेको ठूलो परिवार भएर देश निर्माणमा जुटौं। गलत काम नगरौं।”
यस अवसरमा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको एमाले सदस्यता सम्बन्धी चर्चाबारे पनि प्रतिक्रिया दिए। उनले भने, “पूर्व राष्ट्रपति हुँदा उहाँले पार्टी सदस्यता त्याग्नुभएको हो। नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन। उहाँले पार्टीमा आएर सदस्यता नवीकरण वा नयाँ सदस्यता लिनुभएको पनि छैन। तर, असन्तुष्टहरूसँग मिलेर पार्टी एकतामा असहयोग गर्ने काम होला भन्ने हामीले कहिल्यै सोचेका थिएनौं।”
पार्टी प्रवेशपछि नेता उपेन्द्र साहले आजपाले जनताको लागि काम गर्छ भन्ने भ्रममा आफूहरू केही समय परेको तर वास्तविक गन्तव्य भने एमाले नै भएको बताएका छन्। –00–


