सीप विकासबिना समृद्ध नगरपालिका सम्भव छैन” — नगरप्रमुख रेग्मी

कालिका नगरक्षेत्रभित्रका चेलीहरु सामुहिक रुपमा दर खाए

कालिका (चितवन), ५ भदौ — हरितालिका तीज नजिकिँदै चितवनका गाउँघर तीजमय बन्दै गएका छन्। जिल्लाका सबै स्थानीय तहहरूले तीजलाई विशेष प्राथमिकतामा राखेर फरक–फरक कार्यक्रम गरिरहेका छन्। स्थानीय तहका विभिन्न सामाजिक संघ–संस्था र सहकारी समूहहरूले समेत तीजको अवसरमा विविध सांस्कृतिक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

यस्तै, कालिका नगरपालिकाले पनि ‘तीज विशेष महिला क्षमता विकास तथा शुभकामना आदान–प्रदान कार्यक्रम’ आयोजना गरेको छ। संस्कृति जगेर्ना र चाडपर्वहरूको पुस्तान्तरण गर्ने उद्देश्यले गत वर्षदेखि सुरु गरिएको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको हो। गत वर्ष प्रतियोगितामुखी रुपमा सञ्चालन गरिएको कार्यक्रमलाई यसपटक प्रशिक्षणमुखी ढङ्गले आयोजना गरिएको नगरपालिकाले जनाएको छ।

कार्यक्रम नगर उपप्रमुख विमला तामाङको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा कालिका नगरपालिका प्रमुख विनोद रेग्मी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभयो। नगरप्रमुख रेग्मीले “नगरपालिका चेलीहरूको माइतीको रूपमा अभिभावकत्व बोकेर उभिन चाहन्छौँ,” भन्दै तीजको अवसर पारेर नगरक्षेत्रका महिलालाई महिला अधिकार र ऐन–नियम सम्बन्धी प्रशिक्षण दिनुका साथै माइतीको आँगनमा छमछमी नाचेेर रमाइलो गर्ने वातावरण बनाईएको जानकारी दिनुभयो। उहाँका अनुसार नगरपालिकाले हरेक महिलालाई दक्ष र क्षमतावान बनाउने लक्ष्यसहित विभिन्न सीपमूलक कार्यक्रमलाई प्राथमिकतामा सञ्चालन गर्दै आएको छ। “सबै महिला सक्षम र आत्मनिर्भर नभएसम्म नगरपालिका समृद्ध बन्न सक्दैन,” उहाँको भनाइ थियो।

राप्ती नगरपालिकाका संस्थापक नगरप्रमुख प्रभा बरालले हाम्रा चाडपर्वहरू भड्किला बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। उहाँले “पहिले वर्षभरि नमिलेका खुशी तीजमा मिल्ने भन्दै गीतहरू गाइन्थे; माइतीघर नजान पाउँदाको पीडा र टाढिएका माइतीहरूको सम्झना गीतमार्फत् व्यक्त हुन्थ्यो, अहिले अवस्था फरक छ,” आधुनिकताको नाममा चाडपर्वलाई केवल महँगो खर्च गरेर मनाउने प्रवृत्ति निरुत्साहित गर्दै जानु पर्नेमा जोड दिनुभयो। बराल कार्यक्रमकी प्रशिक्षक समेत रहनुभएको थियो।

कार्यक्रममा एकल महिला समन्वय संस्था, सृजनशील महिला समूह र चेतना चेली बहुउद्देश्यीय सहकारी संस्थाका टोलीहरूले तीज विशेष गीत तथा नृत्य प्रस्तुति दिएका थिए। सामाजिक विकास समिति संयोजक एवम वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठले शुभकामना मन्तव्य दिनेक्रममा गीत गाउँदा चेलीहरु नाच्न स्टेजमै पुगेका थिए ।

सो अवसरमा कालिका नगरपालिकाका संस्थापक उपमेयर कमला भट्टराई, नेकपा (एमाले) तर्फबाट सरस्वती सापकोटा, नेकपा (माओवादी) तर्फबाट कल्पना आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टी तर्फबाट भवानी न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा कालिका नगरपालिका प्रमुख प्रशाकीय अधिकृत देवराज चौलागाई, विभिन्न सहकारी समुहका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दका प्रतिनिधिहरु समेत सहभागी थिए । कार्यपालिका सदस्य शान्ती महतोले स्वागत मन्त्व्य राख्नुभएको कार्यक्रम नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सम्झना ढकाल ढुवाडीले संचालनगर्नुभएको थियो ।

–0—

Share:

सम्बन्धित समाचारहरु