सर्लाहीमा गोली हानी शिक्षकको हत्या 

जनकपुरधाम, ३० साउन । सर्लाहीको हरिपुरवा नगरपालिका–६ का अन्दाजी ५० वर्षीय शिक्षक रामपुकार यादवको गोली हानी हत्या गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार शुक्रबार राति करिब साढे ८ बजे अज्ञात समूहले यादवमाथि गोली प्रहार गरेका थिए।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

जानकी एकेडेमिक हस्पिटलका सञ्चालक डा. सुरेन्द्र यादवका अनुसार अस्पताल पुग्दा नै रामपुकारको मृत्यु भइसकेको थियो।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका हतियारधारीले गोली प्रहार गरेपछि भाग्ने क्रममा यादव दुर्घटनामा परेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। –00–

 

Share:

सम्बन्धित समाचारहरु