काठमाडौं,३० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट नक्खु कारागार सरुवा गर्ने तयारी भएको छ।
कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार, लामिछानेको कारागार सरुवाबारे आजै निर्णय भई रुपन्देही पठाइएको छ।
“नक्खु ल्याउनका लागि निर्णय गरेर पठाएका छौं,” शर्माले बताए।
उनका अनुसार, लामिछानेले कारागार सरुवाका लागि दिएको मञ्जुरीनामामा नै स्पष्ट रूपमा नक्खु कारागारको माग गरेका थिए। “उहाँले लिखित रूपमा नक्खु कारागार भन्नुभएको थियो, त्यसैअनुसार निर्णय गरेका हौं,” शर्माले स्पष्ट पारे।
लामिछाने हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा छन्। यसअघि नै उनले सरुवाको निवेदन दिएका भए पनि प्रक्रिया अघि बढेको थिएन।
गृहमन्त्री रमेश लेखकले गत बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा लामिछानेको कारागार सरुवाको प्रक्रिया चलिरहेको बताएका थिए।
महानिर्देशक शर्माका अनुसार, अब रुपन्देही कारागार, त्यहाँको प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालय र प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी लामिछानेलाई नक्खु कारागार ल्याउनेछ। –00–

