कोटिहोम महायज्ञको दर्शन गर्न आज रवि लामिछाने र विक्रम पाण्डे आउँदै

चितवन, माघ २८

नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको महायज्ञको अवलोकन तथा दर्शन गर्न आज शहरी विकास मन्त्री एवम् राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आउने भएका छन् । मन्त्री पाण्डेले निर्वाचनको प्रचार थाल्नुअघि गण्डकी आरतीको आर्शिवाद लिएका थिए ।

मन्त्री पाण्डे र सभापति लामिछाने करिब २ बजे हुने महायज्ञको औपचारीक कार्यक्रममा पनि सहभागी हुने महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाजले जानकारी दिए । कोटिहोम महायज्ञलाई राष्ट्रगुरु योगी नरहरीनाथका उत्तराधिकारी एवम् गोरक्षपीठका पीठाधिस श्रीषनाथले नरहरीनाथको १३०औँ शृङखलाको महायज्ञको मान्यता दिइसकेका छन् ।

श्रीसनातन संस्कृति संरक्षण अभियानले गौ वनको आवश्यकता र गौसंरक्षणलाई अभियानका रुपमा लगेको छ । साथै उक्त अभियान सम्पूर्ण जातजातिको कुल धर्म र संस्कृतिको रक्षाको लागि आन्दोलनरत छ । फागुन १२ गते सम्पन्न हुने महायज्ञमा एक करोड ४९ लाख ८५ हजा बत्ति प्रज्वलन गरिने छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा महायज्ञ गरिएको हो ।

त्यस्तै, शुक्रबार नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले दर्शन गरेका छन् । महायज्ञस्थल पुगेर नेता महतले यज्ञस्थल र शिवलिंगको दर्शन गरेका हुन् ।
नेता महतसँगै बागमती प्रदेशका सांसद उत्तम जोशी, माया श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्रराज श्रेष्ठलगायतले महायज्ञको अवलोकन गरे ।

Share:

सम्बन्धित समाचारहरु