रेशम सापकोटा – सेतो नेपाल
चितवन, ३० साउन — माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आर्थिक वर्ष २०८१/८२ को तेस्रो चौमासिक तथा वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम आज माडीको बरुवा बजारमा सम्पन्न भएको छ।
नगरपालिका तथा मातहतका वडा कार्यालयहरूले विगत वर्षमा प्रवाह गरेका सेवा, विकास निर्माणका काम, दैनिक कार्यसम्पादन तथा अन्य सार्वजनिक महत्वका विषयमा प्रतिवेदन प्रस्तुत गर्दै नागरिकका सुझाव र प्रतिक्रिया संकलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ आयोजना गरिएको हो।
कार्यक्रममा नगरका सम्पूर्ण राजनीतिक दल, संघ–संस्था, शैक्षिक तथा स्वास्थ्य संस्था, सुरक्षा निकाय, टोल सुधार समिति, योजना उपभोक्ता समिति, पत्रकार, उद्योग–व्यवसायिक संघसंस्था, सरोकारवाला र नगरवासीहरूको उपस्थिति उल्लेखनीय रहेको थियो।
सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले प्रशासनिक प्रक्रिया र विधिलाई अनावश्यक रूपमा झन्झटिलो बनाउन नहुनेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “काम नगरी विकास र समृद्धि सम्भव छैन, त्यसैले सबैजनाले सकारात्मक रूपमा सहयोग गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो।”
स्थानीयवासीहरूले टोलस्तरको विकास, अधिकार र कर्तव्यको स्पष्टता, पञ्जीकरणसम्बन्धी सेवा, गुणस्तरीय खाद्य वस्तुको निगरानी, अपाङ्गता, सुत्केरी, स्वास्थ्य, शिक्षा, यातायात, संघ–संस्था अनुगमन, महिला व्यवस्थापन, भौतिक तथा सामाजिक विकास, चेतना अभिवृद्धि, महिला तथा युवाको विकासजस्ता विषयमा नगरपालिकालाई प्रश्न उठाएका थिए।
कार्यक्रममा बफरजोनसम्बन्धी विषयमा समेत छलफल भएको थियो। यस क्रममा प्रमुख प्रशासकीय अधिकृत भुसालले शिक्षा र चेतनाको विकास कहिल्यै बिग्रँदैन भन्दै, समाज विकासको लागि सबैभन्दा पहिला मानिस र चेतनाको विकास हुन आवश्यक रहेको उल्लेख गर्नुभयो।
नगर प्रमुखले प्लास्टिकका झोला नियन्त्रण तथा स्वच्छता कायम गर्न, फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन, कुहिने फोहरको पूर्ण प्रयोग र गैर–कुहिने फोहरको व्यवस्थित व्यवस्थापनका लागि विशेष योजना ल्याइएको जानकारी दिनुभयो। साथै, सामाजिक शिक्षा, महिला सशक्तीकरण, महिला उद्यमशीलता प्रवर्द्धन, माछापालन, ड्राइभिङ तालिमलगायतका क्षेत्रमा नगरपालिका सक्रिय रहेको जानकारी गराउनुभयो।
कार्यक्रममा सहभागीहरूले आलोचना भन्दा बढी सुझाव र सकारात्मक विचारहरू प्रस्तुत गरेका थिए। सुनुवाइको प्रत्यक्ष प्रसारण स्वदेश एफएममार्फत गरिएको थियो भने सो क्रममा सामाजिक सञ्जालमा उठेका केही प्रश्न र प्रतिक्रियाहरूलाई समेत सम्बोधन गरिएको थियो।
उपस्थित सहभागीहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ नगर प्रमुख ताराकुमारी काजी महत र प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले क्रमशः दिनुभयो। प्रश्नहरूको समाधान गर्ने क्रममा दुवैले आवश्यक स्पष्टीकरणका साथै आफ्ना–आफ्ना मन्तव्यहरू राख्दै नगरको आगामी कार्ययोजना, प्राथमिकता र नागरिकसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनका लागि योजना र कदमबारे स्पष्ट जानकारी दिनुभयो।
सुनुवाइ कार्यक्रममा माडीमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिले आफ्नो मन्तव्य सहित विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए।
नगरपालिकाले सार्वजनिक सुनुवाइमार्फत संकलित सुझाव र प्रतिक्रियाहरूलाई आगामी योजनामा समावेश गर्दै विकास र सेवामा सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।–00–


