अलास्कामा ट्रम्प–पुटिन भेट: युक्रेन युद्ध अन्त्यमा केन्द्रित उच्चस्तरीय वार्ता

काठमाडौं,  ३० साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको बहुप्रतिक्षित भेटवार्ता अलास्कामा हुने भएको छ । रुस–युक्रेन युद्धका कारण बिग्रिएको दुई देशको सम्बन्ध वर्षौंपछि पहिलोपटक उच्चस्तरीय बैठकमार्फत पुनः संवादको प्रयास हुँदैछ ।

ट्रम्पले आफ्नो चुनावी अभियानकै दौरान युक्रेन युद्ध अन्त्य गर्ने वाचा गरेका थिए र हालसम्म निरन्तर कूटनीतिक पहल गर्दै आएका छन् । शुक्रबार हुने भेट यसै प्रयासको हिस्सा हो । ट्रम्पले भेटपछि युद्धविराम हुने सम्भावना २५ प्रतिशत मात्र रहेको बताए पनि यसलाई वार्ताको महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ ।

रुससँगको वार्तामा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई सहभागी नगराउने निर्णय विवादास्पद बनेको छ । जेलेन्स्कीले आफूलाई ‘बाइपास’ गरेर हुने कुनै पनि सम्झौता ‘निरर्थक’ हुने चेतावनी दिएका छन् ।

यो वार्ता अमेरिकी सैन्य बेसमा केही घण्टा मात्र चल्नेछ । ट्रम्पले एक साताभित्र युद्धविराममा सहमत हुन वा कडा प्रतिबन्धको सामना गर्न पुटिनलाई चेतावनी दिएका छन् । तर पुटिनले आफ्नो अडान कायम राख्दै डोनेट्स्क, लुहान्स्क, खेरसोन र जापोरिज्झियामा पूर्ण नियन्त्रण पाएपछि मात्र युद्धविराम सम्भव हुने स्पष्ट पारेका छन् । साथै, उनले युक्रेनले नाटोमा नजाने प्रतिबद्धता जनाउनुपर्ने पूर्वसर्त पनि दोहोर्याएका छन् ।—00–

Share:

सम्बन्धित समाचारहरु