भरतपुरमा तीज विशेष उद्यमशील एक्स्पो, ५० लाखको कारोबारको लक्ष्य

चितवन,२८ साउन । चितवन उद्योग संघ अन्तर्गतको महिला उद्यमी मञ्चले तीजलाई लक्षित गरी ‘तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला’ आयोजना गर्ने भएको छ ।

मेला यही साउन ३० गतेदेखि भदौ १ गतेसम्म भरतपुरस्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा हुने मञ्चकी अध्यक्ष सृजना सोतीले जानकारी दिनुभयो । विगत तीन वर्षदेखि आयोजना हुँदै आएको यो मेला उद्यमशील महिलाहरूलाई एउटै छानामुनि भेला गराई अनुभव आदान–प्रदान गर्ने, उत्पादनको प्रदर्शनीमार्फत महिला उद्यमशीलताको प्रवर्द्धन गर्ने र स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले सञ्चालन हुँदै आएको हो ।

मेला हरेक दिन बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा हस्तकलाका सामान, तीज विशेष सामग्री, लत्ताकपडा, जुत्ता–चप्पल, बुटिकका उत्पादन, गिफ्ट आइटम, गरगहना, खाद्यान्नका परिकार, मेहन्दी, सौन्दर्य सामग्री तथा सेवा, बैंक तथा वित्तीय संस्था, इन्सुरेन्स कम्पनी, कृषिजन्य उत्पादन, नवप्रवर्तनका स्टलसहित तीजका लागि उपयोगी उत्पादन प्रदर्शन र बिक्री हुने ३५ भन्दा बढी स्टल रहनेछन् ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा १० हजारभन्दा बढी अवलोकनकर्ता भित्रिने र ५० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

मेलामा ‘मानसिक स्वास्थ्य हाम्रो सरकार, जागरुक उद्यमी समृद्ध परिवार’ भन्ने नारासहित तीज गीत प्रतियोगितासमेत आयोजना हुने भएको छ । प्रतियोगितामा ३० भन्दा बढी समूहको सहभागिता रहनेछ । विजेता समूहलाई २० हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई १५ हजार र सान्त्वना समूहलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

महिला उद्यमी मञ्चमा हाल २५० भन्दा बढी महिला उद्यमी आवद्ध छन् । पछिल्लो एक वर्षमा मात्र १५ जना नयाँ महिला उद्यमी मञ्चमा जोडिएका अध्यक्ष सोतीले बताउनुभयो ।

-00—

Share:

सम्बन्धित समाचारहरु