रेशम सापकोटा – सेतो नेपाल
चितवन, २७ साउन । माडी नगरपालिका र सडक डिभिजन कार्यालय भरतपुरको सहकार्यमा चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने माडी हुलाकी सडक खण्डको दायाँबायाँका झाडी फाड्ने तयारी पूरा भएको छ।
नगर प्रमुख ताराकुमारी काजी महतो, प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, सडक डिभिजन कार्यालयका इन्जिनियर कृष्ण आचार्यलगायतको आज नगरपालिकामा सम्पन्न बैठकपछि झाडी फाड्ने काम सडक डिभिजन कार्यालयमार्फत सञ्चालन गर्ने निर्णय गरिएको हो। नगर प्रमुख महतोका अनुसार झाडी फाड्ने कार्य प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीबद्ध श्रमिकमार्फत दुई दिनपछि सुरु हुनेछ।

यसअघि माडी नगरपालिकाले युवा स्वरोजगार कार्यक्रममार्फत करिब १०/१० मिटर चौडाइमा झाडी सफाइ सुरु गरे पनि बाँकी भाग अब सडक डिभिजन कार्यालयले सम्पन्न गर्नेछ। सो कार्यालयले ग्रेडर र रोलर प्रयोग गरी निकुञ्जभित्रको सडक मर्मतसमेत पूरा गरिसकेको छ।
बर्खासँगै झाडी बाक्लिँदा निकुञ्जभित्रको यो सडक खण्डमा यातायात आवतजावतमा समस्या आइरहेकाले सफाइ कार्यलाई प्राथमिकतामा राखिएको हो ।–00–


