काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा शानदार प्रदर्शन जारी राख्दै लगातार पाँचौँ जित हात पारेको छ। शनिबार टीयू क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले राखेको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्यो।
टिमको जितमा इसान पाण्डेले ३५ बलमा ८ चौका र १ छक्कासहित ५६ रनको उत्कृष्ट योगदान दिए। जोश ब्राउन ०, विनोद भण्डारी ४२ र क्रिस लिन १ रनमा आउट भए। कप्तान दीपेन्द्रसिंह ऐरी १० र हर्मित सिंह २५ रनमा अविजित रहे।
जनकपुरका बलरहरूमा माज सदाकतले २ विकेट लिए भने सञ्जय कृष्णमूर्ति र आदित्य मेहताले एक–एक विकेट हात पारे।
यसअघि टस जितेर ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्सले २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको थियो। टिमका लागि सञ्जय कृष्णमूर्तिले ३८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै अर्थशतक (५०+) बनाएका थिए। जोन निकोल लोफ्टी इन्र्टनले ३९ रन जोडे। अन्य ब्याट्सम्यानहरू क्रमशः माज सदाकत १२, आसिफ शेख ०, मयन यादव ६, आदित्य मेहता १५, शुभ कंशाकार ० र वायन पार्नेल १४ रनमा आउट भए। रुपेश सिंह १ रनमा अविजित रहे।
सुदूरपश्चिमका बलर अभिनास बोहराले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। स्कट कुइगेलेइनले ३ विकेट र कप्तान ऐरीले १ विकेट लिए। सुदूरपश्चिमको यो लगातार पाँचौँ जित हो भने साविक विजेता जनकपुर बोल्ट्सले लगातार चौथो हार बेहोरेको छ।–00—


