बैंक जमानतमा रविलाई रिहा गर्न जिल्ला अदालतद्वारा अस्वीकार,थुनामै राख्न आदेश

रुपन्देही, २६ साउन ।  रुपन्देही जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बैंक जमानतमा छाड्ने निवेदन अस्वीकार गरेको छ।

सोमबार न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेको निवेदनमाथि सुनुवाइ गर्दै मागअनुसार आदेश दिन नमिल्ने ठहर गरेको अदालतका स्रेस्तेदार विकास बस्नेतले जानकारी दिए।

लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७१ बमोजिम आफ्नो भागको बिगो तिर्ने भन्दै बैंक ग्यारेन्टीसहितको निवेदन दिएका थिए। उनले साउन १९ गते २ करोड ७४ लाख ८५ हजार बराबरको बैंक जमानत पेश गरेका थिए।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले पूर्वमा धरौटीमा छाड्ने आदेश दिएको भए पनि उच्च अदालत बुटवल इजलासले २०८१ चैत्र १२ गते उक्त आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाएको थियो। उक्त आदेशलाई सर्वोच्च अदालतको संयुक्त इजलासले समेत सदर गरेको थियो।

उच्च अदालतको आदेशपछि लामिछाने २०८१ चैत्र २५ देखि भैरहवा कारागारमा रहेका छन्।–00—

Share:

सम्बन्धित समाचारहरु