साउन २९, खैरहनी । खैरहनी नगरपालिका ९ स्थित अन्त्योदय जनजाति आवासीय विद्यालयमा आइतबार एकैदिन ७० जनाभन्दा बढी विद्यार्थी बिरामी भएका छन् ।
विद्यार्थीमा रुघाखोकी, ज्वरोजस्ता इन्फ्लुन्जाको लक्षणसहित बिरामी भएका हुन् । उनीहरु बिरामी भएको खबर पाउनासाथ नगरपालिकाले आफ्नो नगर अस्पतालबाट डाक्टरसहितको टोलीले स्वास्थ्य परीक्षण गरेको छ ।
आइतबार साँझ खैरहनी नगर अस्पतालका प्रमुख डा. प्रशान्त कँडेल, डा. सन्देश न्यौपाने, डा. सौरभ श्रेष्ठ, सिनियर अनमी सरिता श्रेष्ठसहितको टिमले स्वास्थ्य परीक्षण गरेको थियो ।
बिरामी भएका विद्यार्थीमध्ये एक जनाको भरतपुर अस्पतलमा गरिएको परीक्षणमा इन्फ्लुएञ्जा ए भाइरस प्रमाणित भएको र लक्षण मिल्दोजुल्दो रहेकोले सबैमा त्यही भाइरसको सङ्क्रमण हुन सक्ने जनस्वास्थ्य निरीक्षक नविन अधिकारीले बताए ।
परीक्षणपछि स्वास्थ्य शाखाबाट आवश्यक औषधि निःशुल्क वितरण गरिएको अधिकारीले जानकारी दिए । विद्यार्थी बिरामी भएपछि नगर उपप्रमुख कविता उप्रेती, वडाध्यक्ष बन्धुराम महतो विद्यालय पुगेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।