काठमाडौं, १६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको उल्लेख गरेका छन्। नेकपा ९एकीकृत समाजवादी० पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टीहरू सबै खतम छन्, नेताहरू सबै खतम छन् भन्ने भाष्य बनाउन खोजिएकाले त्यसलाई विफल बनाउनुपर्ने धारणा राखेका हुन्।
‘देशमा केही भएको छैन, केही छैन, केही हुँदैन, पार्टीहरू सबै खतम छन्, नेताहरू सबै खतम छन् भन्ने भाष्य बनाउन खोजिएको छ, त्यो भाष्य मेरो विचारमा प्रतिक्रियावादी भाष्य हो, त्यो प्रतिगमनकारी भाष्य हो।’, प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्ट्राचार अभियानलाई निस्तेज पार्ने किसिमका प्रचारवाजी गरिएका छन्, यो गलत छ, त्यसकारण राम्रा कामलाई राम्रो भन्न सक्नुपर्यो, नराम्रालाई नराम्रो भनेर आलोचना गर्नुपर्यो।’
उनले जनताका आशा एवं अपेक्षाहरू पूरा गर्नका लागि सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्ने बताए। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले भने,‘आन्दोलनका नेताहरूले अझ ठूलो परिवर्तनका निम्ति एवं नेपाली जनताको आशा, अपेक्षा पूरा गर्न फेरि एकपटक सङ्कल्प लिन जरुरी छ, एकताबद्ध एवं केन्द्रित हुन जरुरी छ।’
सबै लोकतन्त्रवादी एवं देशभक्त शाक्तिहरू राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डताको रक्षा एवं राष्ट्रिय आत्मसम्मानका निम्ति सबै एक ठाउँमा उभिन जरूरी रहेको आवश्यकता औँल्याए। उनले हरेक चिज निरन्तर परिवर्तनको प्रवाहमा हुने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले परिस्थितिअनुरूप विश्लेषण गरेर अगाडि बढ्न आग्रह गरे।
अध्यक्ष प्रचण्डले भने, ‘एकता, सङ्घर्ष र रूपान्तरणसहित नेपालको कम्युनिष्ट आन्दोलन अगाडि बढेको छ, यसमा हामी भुक्तभोगी नै छौँ। हामी द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्छौं। कम्युनिष्टहरू अतितमुखी होइन, भाविष्यमुखी भएर सोच्छौँ। हामी निराशावादी होइन, आशावादी भएर सोच्छौँ। क्रान्तिकारीता सहितको आशावादीता कम्युनिष्टहरूको विशेषता हो।’
प्रचण्डले निराशा र अतिवादी प्रवृत्तिलाई परास्त गर्दै क्रान्तिकारी आशावादीका साथ सही विचार र राजनीतिक कार्यदिशा विकास गरेर कम्युनिष्ट एकता, राष्ट्रिय एकता एवं राष्ट्रको समुन्नतिको निम्ति स्पष्ट कार्यक्रम लिएर अगाडि बढ्न नेकपा(एकीकृत समाजवादी)लाई सुझाव दिए।—00–


