चितवन । जापानमा व्यावसायिक सवारी चालकको अभाव बढ्दै गएपछि नेपाली चालकहरूका लागि आकर्षक रोजगारीका अवसर सिर्जना हुन थालेका छन्। जापानमा मासिक २ लाख ५० हजार रुपैयाँभन्दा बढी तलब प्राप्त गर्न सकिने रोजगारीलाई लक्षित गर्दै लाइफलाइन ओभरसिज (CHITWAN) प्रा.लि. र भिक्ट्री निहोन एजुकेशनल कन्सल्टेन्सीले पहिलो चरणमा ८०० नेपाली चालकलाई निःशुल्क जापानी भाषा तथा ड्राइभिङ तालिम प्रदान गर्ने तयारी गरेका छन्।
नेपालमा ट्रक, बस तथा ट्याक्सी चलाइरहेका अनुभवी चालकसँगै कतार, साउदी अरब, यूएई, कुवेतलगायत खाडी मुलुकमा सवारी चालकका रूपमा कार्यरत नेपालीलाई यस कार्यक्रमले लक्षित गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अध्यक्ष सन्देश अर्याल हालै जापानका विभिन्न सहरमा रहेका यातायात कम्पनी तथा स्थानीय, महानगर र प्रिफेक्चर तहका सरकारी प्रतिनिधिहरूसँग भेटघाट गरी नेपाल फर्किएका छन्। उनका अनुसार जापानका यातायात कम्पनीहरू नेपाली चालकलाई रोजगारी दिन इच्छुक देखिएका छन्। जापानमा व्यावसायिक चालकको अभाव रहेकाले नेपाली चालकका लागि अवसर बढ्दै गएको उनले बताए।
“नेपाली चालकसँग सीप र अनुभव छ। हामी उनीहरूलाई जापानी भाषा र ड्राइभिङ तालिम दिएर जापानमा राम्रो आम्दानी र सुरक्षित भविष्य निर्माण गर्ने अवसर उपलब्ध गराउन चाहन्छौँ,” अर्यालले भने।

मासिक २ लाख ५० हजारभन्दा बढी तलबको अवसर
कम्पनीका अनुसार जापानमा चालकहरूले रोजगार सम्झौताअनुसार मासिक नेपाली रुपैयाँ २ लाख ५० हजारभन्दा बढी बराबरको तलब प्राप्त गर्न सक्नेछन्। यसका अतिरिक्त बोनस, ओभरटाइम, सामाजिक सुरक्षा तथा अन्य सुविधा पनि उपलब्ध हुन सक्ने जनाइएको छ।
त्यस्तै, हवाई टिकट तथा जापानी ड्राइभिङ लाइसेन्स प्राप्त गर्ने तयारी र प्रक्रियामा लाग्ने करिब ११ लाख रुपैयाँसम्मको खर्च जापानी रोजगारदाता कम्पनीले व्यहोर्ने गरी सहकार्य भइरहेको कम्पनीको भनाइ छ। यद्यपि, यी सुविधा सम्बन्धित रोजगारदाता कम्पनीसँगको अन्तिम सम्झौताअनुसार निर्धारण हुनेछन्।
जापानको व्यवस्थित यातायात प्रणाली, आधुनिक सडक पूर्वाधार, आकर्षक पारिश्रमिक तथा सामाजिक सुरक्षा सुविधाका कारण खाडी मुलुकमा कार्यरत नेपाली चालकका लागि जापान नयाँ रोजगारी गन्तव्य बन्न सक्ने अध्यक्ष अर्यालको विश्वास छ।
नेपाल र जापान दुवै देशमा सडकको बायाँतर्फ सवारी चलाउने व्यवस्था रहेकाले नेपाली चालकलाई जापानी ड्राइभिङ प्रणालीसँग परिचित हुन केही सहज हुने अपेक्षा गरिएको छ। तर, जापानमा व्यावसायिक चालकका रूपमा काम गर्न आवश्यक जापानी भाषा, सीप परीक्षा, ट्राफिक नियम तथा लाइसेन्ससम्बन्धी मापदण्ड पूरा गर्नुपर्ने हुन्छ।

पहिलो चरणमा ८०० चालकलाई निःशुल्क तालिम
नेपाली चालकलाई जापानमा रोजगारीका लागि तयार पार्ने उद्देश्यले पहिलो चरणमा ८०० जनालाई निःशुल्क जापानी भाषा तथा ड्राइभिङ तालिम प्रदान गर्ने योजना बनाइएको कम्पनीले जनाएको छ। यसका लागि चितवन, पोखरा र काठमाडौंमा कार्यक्रम अघि बढाइएको छ।
कम्पनीका अनुसार यसअघि पनि उनीहरूमार्फत जापान पुगेका नेपाली ट्रक चालकहरू त्यहाँ सफलतापूर्वक कार्यरत छन्। सोही अनुभवलाई विस्तार गर्दै थप नेपाली चालकलाई जापानमा रोजगारी उपलब्ध गराउने तयारी भइरहेको छ।
जापानमा दक्ष चालकको माग बढिरहेका बेला नेपाली चालकलाई भाषा, सीप र आवश्यक प्रक्रियाबारे जानकारी गराएर व्यवस्थित रूपमा रोजगारीमा जोड्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

इच्छुक चालकलाई सम्पर्क गर्न आग्रह
लाइफलाइन ओभरसिज (CHITWAN) प्रा.लि. तथा भिक्ट्री निहोन एजुकेशनल कन्सल्टेन्सीले नेपाल तथा खाडी मुलुकमा कार्यरत अनुभवी चालकलाई आफ्नो ड्राइभिङ लाइसेन्स र कामको अनुभवसम्बन्धी विवरणसहित सम्पर्क गर्न आग्रह गरेका छन्।
इच्छुक व्यक्तिहरूले चितवन, पोखरा तथा काठमाडौंस्थित कार्यालयमा सम्पर्क गरी प्रारम्भिक छनोट, निःशुल्क तालिम, जापानी भाषा तयारी तथा रोजगारी प्रक्रियाबारे जानकारी लिन सक्नेछन्।
कम्पनीले प्रस्ताव गरेका तलब, हवाई टिकट, लाइसेन्स खर्च तथा अन्य सुविधा सम्बन्धित रोजगारदाता कम्पनीसँगको अन्तिम सम्झौता र प्रचलित कानुनी प्रक्रियाअनुसार लागू हुनेछन्। निःशुल्क तालिममा छनोट हुँदैमा जापानमा रोजगारी सुनिश्चित हुने भने होइन।



