धनगढी २५ साउन । दुई समूहबीचको झडपपछि तनावग्रस्त बनेको कैलाली कारागारमा कैदीबन्दीको पुनः गणना सम्पन्न भएको छ।
मानव अधिकार आयोगका प्रतिनिधि, कारागार प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थितिमा आइतबार थुनुवा कक्षमा प्रवेश गरी कैदीबन्दीको संख्या यकीन गरिएको हो।
गणनाअनुसार पुरुष ब्लक ‘ए’ मा ३९६ जना, ब्लक ‘बी’ मा १९८ जना र महिला ब्लकमा ५६ जना रहेका छन्। यसअघि कारागार प्रशासनले शनिबारको झडपमा ४९ जना घाइते भएको र एक जनाको मृत्यु भएको जनाएको थियो।
प्रशासनका अनुसार कारागारमा कुल ७०० जना कैदीबन्दी रहेका छन्, र आइतबारको गणनामा संख्यामा कुनै हेरफेर नभएको पुष्टि भएको छ।
यसअघि झडपपछि कैदीबन्दीहरूले भित्रबाट थुनुवा कक्ष लक गरेर बाहिरका निकायलाई प्रवेश गर्न नदिएको कारण संख्याबारे अन्योल पैदा भएको थियो।


