कप्तानगञ्ज हिंसा छानबिन गर्न सरकारी टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन सुरु

विराटनगर, १२ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको छानबिन गर्न गठन गरिएको सरकारी टोली सोमबार राति विराटनगर पुगेको छ।

गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै घटनासम्बन्धी प्रारम्भिक विवरण संकलन गरेको छ।

समितिले घाइते, प्रत्यक्ष पीडित तथा घटनाका साक्षीहरूसँग बयान लिने काम सुरु गरिसकेको छ। प्राप्त जानकारी, सुरक्षा निकायको प्रतिवेदन तथा अन्य प्रमाणका आधारमा घटनाको विस्तृत अध्ययन गरी प्रतिवेदन तयार पारिने जनाइएको छ।

छानबिन टोलीले घटनास्थल रहेको कप्तानगञ्ज पुगेर स्थलगत निरीक्षण गर्ने कार्यक्रम पनि रहेको छ। प्रत्यक्षदर्शीको बयान, उपलब्ध प्रमाण र सम्बन्धित निकायबाट प्राप्त विवरणको विश्लेषणपछि निष्कर्षसहितको प्रतिवेदन तयार गरिनेछ।

सोमबार गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैठकले सहसचिव थापाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिलाई सात दिनभित्र आफ्नो प्रतिवेदन सरकारसमक्ष बुझाउने जिम्मेवारी दिइएको छ।

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेको थियो। त्यसपछि स्थानीय प्रशासनले क्षेत्रको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

Share:

सम्बन्धित समाचारहरु