नारायणी पुलबाट हाम फालेर पुरुष बेपत्ता, खोजी कार्य जारी

 

चितवन, २४ साउन — चितवनको भरतपुर महानगरपालिका र नवलपुरको गैँडाकोट नगरपालिकालाई जोड्ने नारायणी पुलबाट हाम फाल्दा एक पुरुष बेपत्ता भएका छन्। घटना शनिबार साँझ करिब ६ बजे भएको हो।

वडा प्रहरी कार्यालय नारायणगढका अनुसार, हाम फाल्ने व्यक्तिले पुलमाथि एक झोला छोडेका थिए। उक्त झोलामा बिनयी त्रिवेणी गाउँपालिका–१ (साविक दुम्कीबास–७) निवासी ४३ वर्षीय गिरीराज कंडेलको नाममा जारी नागरिकता प्रमाणपत्र फेला परेको छ। तर, सो आधारमा पहिचानको औपचारिक पुष्टि भइसकेको छैन।

प्रत्यक्षदर्शीका अनुसार, ती पुरुष केही बेर पुलको रेलिङनजिक अडिएर तल हेर्दै थिए र अचानक नदीमा हाम फाले। त्यसपछि इलाका प्रहरी कार्यालय गैँडाकोट र सशस्त्र प्रहरीले संयुक्त रूपमा खोजी कार्य सुरु गरेका छन्।

नारायणी नदीको तीव्र बहावका कारण उद्धारमा कठिनाइ भइरहेको छ भने घटनाको कारणबारे अझै अनुसन्धान जारी जनाएको छ। –00–

Share:

सम्बन्धित समाचारहरु