खैरहनीमा कन्टेनरको ठक्करबाट दुई जनाको मृत्यु

चितवन। चितवनको खैरहनीमा गएराति कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार खैरहनी नगरपालिका–८ चैनपुरचोक नजिकै पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००२ ख ०७९९ नम्बरको कन्टेनरले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०६–००५ प ७७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकल चालक र पछाडि सवार एक महिलासहित दुई जना गम्भीर घाइते भएका थिए। दुबैलाई उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको भए पनि उपचारको क्रममा दुबैको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको पहिचान पछि सार्वजनिक गरिएको प्रहरी तथ्याङ्क अनुसार
१. मोटरसाइकल चालक — चितवन, राप्ती नगरपालिका–७ बस्ने १९ वर्षीय श्रीराम कंडेल, जसको सनाखत उनकी दिदी इन्दिरा कंडेलले गरेकी हुन्।
२. पछाडि सवार महिला — चितवन, राप्ती नगरपालिका–५ बस्ने २० वर्षीया बिमला तामाङ, जसको सनाखत उनकी दिदी सिता लामाले गरेकी हुन्।

ठक्कर दिने कन्टेनरका चालक सर्लाही जिल्लाको बरथवा नगरपालिका–१७ का २७ वर्षीय धनेलाल शाहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक प्रदीप महत को कमान्डमा ट्राफिक टोली खटिएको थियो।

घटनापछि बाटो केहीबेर अवरुद्ध भए पनि अहिले सुचारु रहेको प्रहरीले जनाएको छ। दुवै मृतकको शव मुचुल्का कार्य सम्पन्न गरी पोस्टमार्टमका लागि भरतपुरस्थित सरकारी अस्पतालमा पठाइएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु