माडी, २३ साउन — माडी नगरपालिका–२, भैरवपुरका किसान हरीबहादुर श्रेष्ठलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको घटनाप्रति माडीका विभिन्न राजनीतिक दलहरूले आपत्ति जनाएका छन्।
श्रेष्ठको आफ्नै खेतमा चितवन राष्ट्रिय निकुञ्जबाट आएको गैडा तारमा अल्झिएर मृत फेला परेको थियो। उक्त घटनापछि निकुञ्जले श्रेष्ठलाई पक्राउ गरेको हो।
संयुक्त प्रेस विज्ञप्तिमार्फत दलहरूले माडीका बासिन्दा वर्षौँदेखि चितवन राष्ट्रिय निकुञ्जबाट प्रभावित हुँदै आएको र निकुञ्ज प्रशासन जनताको सुरक्षा तथा किसानको जीविकोपार्जनप्रति जिम्मेवार नदेखिएको आरोप लगाएका छन्।
विज्ञप्तिमा भनिएको छ, “किसानले लगाएको खेतीबाली जंगली जनावरले नष्ट गर्दा पनि किसानले उचित क्षतिपूर्ति पाउन सकेका छैनन्। दशौं विघा जमिनमा धान खेती गर्ने एक सक्रिय किसानलाई हिरासतमा लिएर मुद्दा चलाउने कार्यले हामीलाई गम्भीर बनाएको छ।” दलहरूले गैडाको मृत्यु दुखद भए पनि यो घटना कृषिजीवीको रोजगारी र जीवनमाथि आघात हुनेगरी नउठाउन आग्रह गरेका छन्।
विज्ञप्तिमा विनाशर्त श्रेष्ठको रिहाईको माग गर्दै चितवन राष्ट्रिय निकुञ्ज, वन मन्त्रालयलगायत सबै सरोकारवालाबीच छलफलमार्फत समाधान खोज्न सुझाव दिइएको छ।
यस संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, र नेकपा (एकीकृत समाजवादी) माडी नगर समितिका अध्यक्षहरूको हस्ताक्षर रहेका छन्। दलहरूले घटनालाई किसानको जीविकोपार्जन र मानव जीवनमाथिको गम्भीर चुनौतीका रूपमा व्याख्या गरेका छन्।

–00–


