काठमाडौं, १९ साउन । कक्षा १२ को नतिजा आज (सोमबार) साँझ सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नका लागि आज साँझ ५ बजे बोर्ड बैठक बस्ने तयारी गरेको छ।
बोर्डका एक स्रोतका अनुसार आइतबार नतिजाको डेमो परीक्षण गरिएको थियो। उनले भने, “हिजो डेमो गरिएको थियो, आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो।”
शैक्षिक क्यालेन्डर अनुसार नतिजा १५ साउनभित्र सार्वजनिक हुनुपर्ने थियो। तर, गत २० चैतदेखि सुरु भएको शिक्षक आन्दोलनका कारण २९ दिनसम्म पठनपाठन प्रभावित भएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको हो।
यस वर्षको कक्षा १२ को परीक्षा सुरुमा ११ वैशाखदेखि हुने तालिका तय गरिएको थियो। तर आन्दोलनका कारण परीक्षा २१ वैशाखदेखि सुरु भएको थियो।
उक्त परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी सहभागी भएका थिए।–00–


