खोटाङ, १९ साउन । खोटाङको हलेसी मन्दिर दर्शन गरेर सिरहा फर्किंदै गरेको यात्रु सवार माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
प्रदेश २–०१–००१ ज ००५३ नम्बरको माइक्रोबस आज बिहान करिब ९ बजे मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिकै दुर्घटना भएको हो। दुर्घटनामा परी घटनास्थलमै एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
दुर्घटनामा घाइते भएकामध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई हलेसी तुवाचुङ नगरपालिकाको एम्बुलेन्समार्फत काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको नगरपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष कमल गिरीले जानकारी दिए। अन्य ८ जनाको घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा उपचार भइरहेको छ, र उनीहरूको अवस्था सामान्य बन्दै गएको बताइएको छ।
दुर्घटनाग्रस्त माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको प्रत्यक्षदर्शीहरू बताउँछन्। दुर्घटनास्थल वरिपरि बुट्यान र झाडी भएकाले ठूलो मानवीय क्षति हुन नपाएको वडा अध्यक्ष गिरीले बताएका छन्।
दुर्घटनाको कारण भने अझै खुल्न बाँकी रहेको र घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
माइक्रोबसमा सवार १६ जना यात्रु साउन महिनामा हलेसीमा लाग्ने ‘बोलबम’ मेला भरेर फर्किंदै थिए। हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको त्रिधार्मिक स्थल हलेसीमा साउन महिनाभर विशेष पूजाआर्जना तथा मेला लाग्ने गर्दछ। सो अवसरमा दर्शनार्थीहरू निजी तथा भाडाका सवारी साधन रिजर्भ गरेर मन्दिर पुग्ने गरेका छन्।–00–

