रेशम सापकोटा – सेतो नेपाल
चितवन,१९ साउन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर खण्डकाव्य ‘मुनामदन’ रंगमञ्चमार्फत माडीमा जीवन्त बनेको छ। पोखरा थिएटर र माडी रंगमञ्चको संयुक्त प्रस्तुतीमा साउन १८ गतेबाट बसन्तपुरस्थित होटल प्याराडाइजको एसी हलमा सुरु भएको नाटकले पहिलो दिनमै दर्शकको मन जितेको छ।
पहिलो दिन तीनवटा शो सञ्चालन गरियो। दिउँसोका दुई शो विद्यार्थीका लागि राखिएका थिए भने साँझको रात्रिकालीन शो बजार प्रतिनिधि, अभिभावक तथा विशिष्ट पाहुनाहरूका लागि समर्पित थियो। आयोजक माडी रंगमञ्चका अध्यक्ष सुमन तिम्सिनाका अनुसार, तीनवटै शोमा गरी करिब एकहजार दर्शकले ‘मुनामदन’ हेरेका छन ।
रात्रिकालीन शो विशेष चर्चामा रह्यो। सो अवसरमा प्रदेशसभा सांसद ठाकुरप्रसाद ढकाल, माडी नगरपालिकाकी मेयर तारा कुमारी काजी महत्व, उपमेयर खेमप्रसाद महत्व, साथै विभिन्न वडाका वडा अध्यक्षहरू समेत उपस्थित थिए। उनीहरूसँगै बजार क्षेत्रका व्यवसायी, अभिभावक र स्थानीय दर्शकहरूको बाक्लो उपस्थिति देखियो।
नाटकको निर्देशन र रूपान्तरण नाट्यकर्मी ‘परिवर्तन’ले गरेका हुन्। माडीका स्थानीय कलाकारहरूको प्रभावशाली अभिनयले समेत नाटकलाई सजीव बनाएको छ। प्रेम, त्याग, वर्गीय विभेद र मानवीय संवेदनालाई छुँदै समाजप्रति सन्देश दिन सफल यो नाटकले सबैको मन छोएको छ।
आज साउन १९ गते पनि तीनवटा शो हुने कार्यक्रम रहेको आयोजकले जनायको छ। अग्रिम टिकट बुकिङ तिव्र छ भने सामाजिक सञ्जालमा प्रचारप्रसारले माहोल तातेको देखिन्छ ।





–00–


