माटोमा बोल्ने आत्मा : पार्वती बिकको संघर्षको कथा

रेशम सापकोटा – सेतो नेपाल

चितवन,१८ साउन – माडी नगरपालिका–९, गणेशकुञ्जमा, वि.सं. २०४० साल माघ २७ गते जन्मिनु भयकी पार्वती बिक। स्व. हरिप्रसाद सुनार र आमा शान्तिकुमारी सुनारका पाँच सन्तानमध्ये एउटै मात्र छोरी हुनुहुन्छ। उहाँका दाजुभाइमध्ये एकजनाको असामयिक निधन भयो, त्यो पीडा अझै पनि वहाँका आँखा रसाउँछ, त्यो क्षण सम्झिँदा एकछिन मौन रहनुहुन्छ।

बुवा पेशाले सुनचाँदीको गहना बनाउन सीपालु हुनुहुन्थ्यो। सुर्खेतमा उहाँले व्यवसाय चलाउनु हुन्थ्यो। पार्वती सानै हुँदा बुबासँगै सुर्खेत गएकी थिइन्। त्यहीँ सिक्न थालिन्—सिक्री बनाउने, झुम्का पालिस गर्ने, र सुनको साना साना कामहरू। तर गाउँ फर्किएपछि देखिन्—बुबा फुर्सदमा ढुङ्गा कुँदेर देवीदेवताका मूर्तिहरू बनाउनु हुन्थ्यो। त्यो दृश्य सानी पार्वतीको मनमा गहिरोसँग बस्यो।

त्यही देखेर उहाँ पनि घर वरिपरिको चाम्रेमाटो टिपेर ल्याएर, पानी मिसाएर सानासाना मूर्तिहरू बनाउन थाल्नु भयो। त्यो सिप जन्मिएको थिएन, जागेको थियो—मनको गहिराइबाट।

तर त्यो सिपसँगै सुरु भयो संघर्षको यात्रा। खेतमा काम गर्न जानु हुन्थ्यो, बाख्रा चराउनु हुन्थ्यो। वरपरका साथीहरू झोला बोकेर स्कुल जान्थे, सुकिला लुगा लगाएर, हाँस्दै खेल्दै। पार्वती भने टाढाबाट हेरेर बस्नुहुन्थ्यो।

आँखाले हेर्न्थिन्, आँखा रसाउँथ्यो। बरर आँसु झर्थ्यो।
तर कहिल्यै बुबाआमालाई भन्नु भएन—”म पनि स्कुल जान्छु”।
किनकि वहाँले परिवारको दुःखलाई नजिकबाट बुझ्नु भएको थियो।
“त्यो बेला त खानलाई अन्न पुग्दैन थियो, लगाउन लुगा पनि टालटुलै गर्नुपर्थ्यो।”

पढाइ कक्षा पाँचमै रोकियो। खेत, गाईभैंसी, घरको काम, दाजुभाइको सेवा—सबै पार गर्दै जीवन बिताइन्। अनि १९ वर्षको उमेरमा माडी–८, खर्कट्टाका मङ्गलबहादुर विश्वकर्मासँग वैवाहिक जीवनमा बाँधिनुभयो।

वि.सं. २०६४ सालको दशैं, नवदुर्गाको अघिल्लो दिन, अचानक शरीर काम्न थाल्यो, मन चञ्चल भयो। मुखबाट आफैं भगवानको नाम निस्कन थाल्यो।
त्यो बेला उहाँसँग केही थिएन—न पैसा, न सामान।
तर भित्रैबाट एउटा आवाज आयो—“दुर्गा माताको मूर्ति बनाउने।”

इष्टमित्रसँग २५–२५ रुपैयाँ सहयोग मागेर सिमेन्ट किन्नु भयो, रङ ल्याउनुभयो। त्यसपछि पहिलोपटक दुर्गा माताको मूर्ति बनाउनु भयो। मूर्ति घर अगाडि सानो मन्दिर बनाएर राख्नुभयो र नियमित पूजा थाल्नुभयो।
त्यही दिनदेखि सुरु भयो पार्वती बिकको मूर्तिकला यात्रा।

त्यसपछि बिस्तारै गाउँभरि चर्चा फैलियो।
एकपछि अर्को अर्डर आउन थाल्यो—”हाम्रो लागि पनि मूर्ति बनाइदिनु, पैसा तिरौँला” भन्नेहरू आफै आउन थाल्नुभयो।

आज पार्वती बिकले बनाएका मूर्तिहरू बैकुण्ठधाम, अयोध्याधाम, समेश्वरगढी, श्रीकृष्ण मन्दिर, शिव मन्दिर, बुद्ध पार्क, अनि आफ्नै गाउँ गणेशकुञ्ज लगायत थुप्रै धार्मिक ठाउँहरूमा देख्न सकिन्छ।
माटो, सिमेन्ट, फाइबर, ढुङ्गा—जहाँ हात पुगेको छ, त्यो नै सजीव देखिन्छ।

वि.सं. २०७८ सालमा उहाँले “पार्वती मूर्तिकला” नामक फर्म दर्ता गर्नुभयो।
अब त्यो फर्ममार्फत व्यावसायिक रूपमा मूर्ति निर्माण गर्न थाल्नु भएको छ। अर्डर गाउँबाहिरबाट पनि आउन थालेको वहाँमा काम गर्ने उर्जा मिलेको वहाँले बताउनु भयो।

कतिपय मानिस “काम लगाएर पैसा नदिएको” तितो अनुभव पनि हामीसँग कुराकानी गर्दा बताउनु हुन्छ।
थप कुराकानी गर्दै भन्नुहुन्छ—”यस्तो गर्दा त सिप मर्छ, काम गर्न मन लाग्दैन” भन्दै अपिल गर्नुहुन्छ—
“सीपको कदर गरौं, सिप छ भने देशमै केही गर्न सकिन्छ।”

अब उहाँको सपना छ मूर्तिकला सिकाउने ठाउँ बनाउने, हेर्ने मिल्ने बनाउने।
“म सामान्य घरमा बस्छु, त्यो घर बनाउने रहर छैन। तर म चाहन्छु, म जुन मूर्ति बनाउँछु, त्यो शिक्षाको रूपमा बाँड्न सकूँ।”
अनि आँखाबाट आँसु पुछ्दै थप्नुहुन्छ—
“जो सिक्न चाहन्छ, म निःशुल्क पनि सिकाउन तयार छु।”
यो केवल सिप होइन, सामाजिक जिम्मेवारी हो, उहाँको आत्माभित्रबाट बोल्ने।

हाल पार्वती बिक माडी प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य समेत हुनुहुन्छ।
स्थानीय कला, संस्कृति र साहित्यमा पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्छ।

श्रीमान् मङ्गलबहादुर मूर्ति बनाउने ठूला कामहरूमा साथ दिनुहुन्छ, बाँकी समयमा अटो चलाउनुहुन्छ।
पार्वती आफैँ खेतपाती, घरको काम सबै सम्हाल्नुहुन्छ।

दुई छोरामध्ये जेठो छोरा हाल जापानमा अध्ययनरत छन्, भने कान्छो छोरा जनजीवन माविमा कक्षा १२ मा पढ्दैछन्।
“पहिले त धेरै दुःख थियो, अब त छोरा ठूला भए, बुढा पनि कमाउनुहुन्छ। अब त लाग्न थालेको छ—सुखका दिन आउँछन् कि।”
एकछिन चुप लाग्नुहुन्छ, अनि फेरि मुस्कुराउँदै भन्नुहुन्छ—
“हुन त, जीवन नै दुःख र सुखको चौतारी हो।”

पार्वती बिकको जीवन सधैं सजिलो रहेन।
तर वहाँले माटो, ढुङ्गाबाट मूर्ति मात्रै बनाउनु भएन,
दुःखलाई भरोसामा ढाल्नुभयको छ।
सीपलाई धर्ममा बाध्नुभयको छ,
र आफ्नै आत्मालाई समाजको सेवा बनाउनु भएको छ।
उहाँको कर्म माडीको गहना हो र हाम्रा लागि प्रेरणा। –00–

Share:

सम्बन्धित समाचारहरु