काठमाडौं — सरकारले प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा मृत्युवरण गरेका सहिदहरूको सम्झनामा उक्त दिनलाई सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको हो। यसबारे जानकारी सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिए।
बैठकले जेनजी आन्दोलनका सहिदका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरी तथा अविवाहित छोरालाई गृह मन्त्रालयमार्फत फोटोसहितको परिचयपत्र प्रदान गरिने निर्णय पनि गरेको छ।
सरकारले नगद कारोबारको सीमा सम्बन्धमा महत्वपूर्ण निर्णय गर्दै आगामी माघ १ गतेदेखि पाँच लाख रुपैयाँ वा सोभन्दा माथिको सेवामूल्य, वस्तु खरिद–बिक्री वा अन्य कारोबार एक पटकमा गर्दा अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था गर्ने भएको छ।
त्यस्तै, श्रीलंकामा हालै आएको बाढी–पहिरोबाट भएको व्यापक धनजनको क्षति भएपछि नेपालले दुई लाख अमेरिकी डलर सहायता प्रदान गर्ने निर्णय गरेको छ।
बैठकले विश्वविद्यालय अनुदान आयोगको सचिवमा प्राध्यापक ज्ञान बहादुर थापालाई नियुक्त गर्ने, प्रेस काउन्सिल नेपालका अध्यक्षमा डा. कुमा शर्मा आचार्यलाई मनोनीत गर्ने तथा कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
यसबाहेक, बैंकुण्ठ प्रसाद अर्याललाई सचिवमा बढुवा गर्ने निर्णय भएको सरकारका प्रवक्ता खरेलले जानकारी दिए।–00–

