रञ्जन आचार्यको स्मृतिमा माडीको शनिमन्दिरमा नयाँ शनिदेवको प्रस्तर मूर्ति स्थापना हुँदै

रेशम सापकोटा – सेतो नेपाल-

चितवन,१७ साउन — माडी नगरपालिका ७, देवेन्द्रपुरमा रहेको शनिमन्दिरमा शनिदेवको नयाँ प्रस्तर मूर्ति स्थापना गरिने भएको छ। भरतपुर–१०, स्याउलीबजार निवासी भुवन आचार्यले आफ्ना दिवंगत छोरा रञ्जन आचार्यको पवित्र स्मृतिमा अर्पण गर्नुभएको उक्त मूर्ति आज शनिबार मन्दिर परिसरमा ल्याइएको हो।

करिब १ क्विन्टल तौल र ३.५ फिट उचाइको सेतो मार्बलबाट निर्मित शनिदेवको मूर्ति मन्दिर ल्याउँदा मन्दिर समिति र स्थानीय बासिन्दाहरूले भव्य रूपमा स्वागत गरेका थिए।

मूर्ति बोकेर मन्दिरसम्म ल्याइँदा भक्तजनहरूले जयघोष, र भजन–कीर्तन गर्दै श्रद्धासाथ स्वागत गरेका थिए। मूर्ति मन्दिरमा पुर्‍याएसँगै केही समय सामूहिक भजन–कीर्तनसमेत गरिएको थियो।

मूर्ति सहयोग गर्ने परिवारका सदस्य लीलाधर आचार्य का अनुसार, मूर्तिको निर्माणमा मात्र करिब १ लाख ५० हजार रुपैयाँ लागत लागेको छ।

उनका अनुसार शनिदेवको प्राणप्रतिष्ठा श्रावण २२ गते आयोजना गरिनेछ भने श्रावण २३ गते विशेष धार्मिक कार्यक्रमसहित मूर्तिको अनावरण तथा नेत्रमिलन गरिनेछ।

नयाँ मूर्ति स्थापनासँगै मन्दिरको धार्मिक गरिमा र श्रद्धाको भावनामा थप वृद्धि हुने स्थानीयहरूको भनाइ छ।

Share:

सम्बन्धित समाचारहरु